गृहमन्त्री खाण आचारसंहिताविपरित सरकारी गाडी प्रयोग गरी चुनाव प्रचारमा

राजनीति बैशाख २१ 2079 ekhabarnepal
Ghar dailo

तिलोत्तमा, २१ बैशाख ।

गृहमन्त्री बालकृष्ण खाण निर्वाचन आचारसंहिता विपरित रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएका छन् ।
गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी उनी चुनाव प्रचार अभियानमा सहभागी भएका हुन् । गृहमन्त्री खाणले बुधबार तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा आयोजित काँग्रेसको चुनावी कार्यक्रमलाई संबोधन गरेका छन् ।
तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेस र माओवादी गठबन्धनको तर्फबाट गृहमन्त्रीका भाई रामकृष्ण खाण उम्मेदवार छन् । तर उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ ।
आचारसंहिता विपरित गृहमन्त्री काँग्रेसको चुनावी कार्यक्रममा सरकारी गाडी सहित सहभागी भएका थिए । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले सरकारका मन्त्री कुनै दल वा उम्मेद्वारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिता विपरित हुने बताए । “मन्त्री वा कुनै पनि जनप्रतिनिधि आफ्नो पदीय मर्यादाविपरित कुनै पनि चुनावी कार्यक्रममा सहभागी हुन पाइंदैन, त्यो आचारसंहिता विपरित हुन्छ”–उनले भने । 
यसअघि तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे आचारसंहिता विपरित एमालेको चुनावी कार्यक्रममा सहभागी भएको भन्दै काँग्रेस कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उजुरीपछि घिमिरेसँग आयोगले स्पष्टीकरण समेत सोधिसकेको छ । तर घिमिरेले पनि आफूले सरकारी सुविधा फिर्ता गरिसकेको भन्दै चुनावी कार्यक्रममा नगरप्रमुखको हैसियतमा सहभागी नभै दलीय हैसियतमा सहभागी भएको बताए । उनी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

प्राप्त प्रतिकृयाहरू

To Top