बृद्धबृद्धाहरु भन्छन् —‘ज्यान जाला एमाले छाड्न सकिन्न’

राजनीति बैशाख २१ 2079 ekhabarnepal
Received 1054477458754123

बुटवल, २१ वैशाख । सुर्य ध्वजाबाहक झण्डा बोकेका सयौं कार्यकर्ता बाजागाजासहित घर अगाडि आएको देखेपछि बुटवल १३ बंदेलपोखरीकी ८५ वर्षिया बृद्धा खुमाकुमारी गुरुङ लौरो टेकेर बाहिर निस्किन् । 
बुटवल १३ का अध्यक्ष पदका उम्मेदवार शोभाखर पोखे्रलले उनलाई हातमै ढोगे । बृद्धा गुरुङले आशिर्वाद दिइन् र हांस्दै भनिन्–‘सैं पनि एमाले मैं पनि एमाले’ । वरिपरि उभिएका कार्यर्तामा हाँसोको फोहरा फुट्यो । ‘हामीे बुढाबुढीको पार्टी नै एमाले हो बाबु, सय रुप्पे बढेर  चार हजार पुग्यो, सबै छोड्न सकिन्छ ज्यान जाला एमाले छाड्न सकिन्न’ । कार्यकर्ताले तालि बजाए । 
झोलुङ्गेपुल निवासी ७५ बर्षिया विजया सुवेदीले घरदैलोमा आएका एमाले उम्मेदवारलाई फूलमालाले स्वागत गरिन् । उम्मेदवारलाई दही खुवाइन् र भनिन् — ‘एमाले पार्टी छ र हामी बुढाबुढी बांचेका छौं ।’ जिन्दावाद ! जिन्दावाद ! भन्दै उम्मेदवार र कार्यकर्ता निस्केर गए । बृद्धा सुवेदीले आंखाबाट आंसु झारिन् । किन आंसु झरे आमा ? — हामीले सोध्यौं । बृद्धा आमाले आंसु पुछ्दै भनिन्—‘खुसीले बाबु’।
बुटवल ११ देवीनगरकी ७९ वर्षीया चन्द्रकला वस्नेतले अध्यक्ष पदका उम्मेदवार रामचन्द्र क्षेत्री सहितका उम्मेदवारहरु घरदैलोमा पुग्दा फूलमालाले स्वागत गरिन् । निधारमा अबिर लगाइदिन्,विजयको शुभकामना दिइन् र भनिन् —‘ एमाले पार्टी हामी बुढाबुढीको पार्टी हो,बेसहारा,सन्तानविहीन, गरिव र असहायहरुको पार्टी हो । ।’ 
यसपालिको निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवारहरुप्रति बृद्धबृद्धाहरुको अगाध स्नेह देखिएको छ । पहिलो पटक सरकारको नेतृत्व गर्दा नेकपा एमालेले शुरु गरेको बृद्ध भत्ता कार्यक्रमलाई १ सय रुपैंयाबाट बढाएर अहिले ४ हजार पुर्याइएको छ । सामाजिक सुरक्षा भत्ता  नामाकरण गरिएको यो कार्यक्रम नेकपा एमालेको सवैभन्दा बढी लोकप्रिय कार्यक्रम हो । परिवारमा अपहेलित हुन पुगेका वा सन्तान गुमाएका बृद्धबृद्धाहरुलाई यो कार्यक्रमले निकै ठूलो राहत दिएको छ । 
‘हामी घरदैलोमा पुग्दा सवैभन्दा बढी खुसी बृद्धबृद्धाहरु नै देखिए,यो कार्यक्रम नेकपा एमालेका लागि बरदान सावित भएको छ,यसलाई स्थानीय स्तरबाट अझ प्रभावकारी बनाउनु पर्ने देखेका छौ’ं—बुटवल १३ का वडा अध्यक्ष पदका उम्मेदवार शोभाखर पोख्रेलले भने । उम्मेदवार पोख्रेलले सामाजिक सुरक्षा भत्ता पाउन कार्यालय धाउनुपर्ने, बैंकमा घण्टौं लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । उनले चुनाव जितेपछि बृद्धबृद्धाहरुको नियमित स्वास्थ्य जांच गर्ने,पालिकाको सहयोगमा अनिवार्य स्वास्थ्य बिमा गर्ने,बृद्धबृद्धाहरुका लागि मनोरञ्जन स्थल र बृद्धाश्रम निर्माण  गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने बताए । 
बुटवल—११ का वडा अध्यक्ष पदका उम्मेदवार रामचन्द्र क्षेत्रीले नेकपा एमालेप्रति बृद्धबृद्धाहरुको अगाध स्नेह देखिएको बताए । बृद्ध बुवाआमाको खुसीमा छोराछोरी पनि खुसी नहुने कुरै भएन । घरदैलोका क्रममा बृद्धबृद्धा भएका घरमा फुलमाला र अविरले स्वागत गरिएको बताउंदै अध्यक्ष पदका उम्मेदवार क्षेत्रीले सामाजिक सुरक्षा भत्ता जस्ता थप प्रभावकारी कार्यक्रमहरुको परिकल्पना पार्टीले गर्नुपर्ने बताए । उनले स्थानीय सरकारको तर्फबाट बृद्धबृद्धाहरुको सुरक्षा, स्वास्थ्य र मनोरञ्जनका लागि आफुहरुले काम गर्ने बताए । 
लेखक तथा विश्लेषक ऋषि आजादले सामाजिक सुरक्षा भत्ताले बृद्धबृद्धाहरुलाई हेर्ने दृष्टिकोण, उनीहरुप्रतिको सम्मान र प्रतिष्ठा बढेको बताए । यो कार्यक्रमले नेपालमा समाजवादको एउटा प्रारम्भीक अभ्यास शुरु गरिसकेको बताउंँदै नेकपा एमालेका अरु कार्यक्रमहरु यस्तै खालका लोकप्रिय हुनुपर्ने धारणा राखे । बृद्धबृद्धाहरुमा छाएको खुसीका कारण उनीहरुका सन्तानले पनि भावनात्मक रुपमा एमालेको सुर्य चिन्हमै मत दिने अवस्था रहेको उनको विश्लेषण छ । 

प्राप्त प्रतिकृयाहरू

To Top