समाचार / लायन्स विशेष

युनिभर्सल कलेजको सम्बन्धन खारेज गर्न भन्दै डिनलाई पत्र

साउन १ २०७४     .
Madical collage

काठमाडौं । चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न १० संगठनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेज गर्न डिन कार्यालयलाई पत्र बुझाएका छन् ।

संगठनहरुले चिकित्सा शास्त्र तर्फको स्नातकोत्तर तहको प्रवेश परीक्षा सञ्चालन गरी त्रिविका विभिन्न सम्बन्धन प्राप्त निजी कलेजहरुमा मेरिटका आधारमा विद्यार्थी भर्नाको सिफारिश गरिएकामा युनिभर्सल कलेज आफ मेडिकल साइन्सेजले भर्ना गर्न अस्वीकार गरेको भन्दै सम्बन्धन खारेजीको माग गरेका हुन् ।

उनीहरुले बुझाएको पत्रमा ‘सर्वोच्च अदालतले विभिन्न मितिमा मेरिट भर्नाको आदेश दिएको र मिति २०७४ असार २२ गते नेपाल सरकारको मन्त्री परिषद कार्यालयले मेरिटमा भर्ना गर्न निर्देशनात्मक आदेश दिएको तथा त्यसो नगर्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेजीको प्रक्रिया शुरु गर्ने जानकारी गराइसकेको’ उल्लेख छ ।  

मन्त्रिपरिषद् कार्यालयको असार २२ कै निर्देशनात्मक आदेश अनुसार युनिभर्सल मेडिकल कलेजको सम्बन्धन खारेजी प्रक्रिया तत्काल अगाडि बढाउन र दोस्रो काउन्सिलिङको प्रक्रिया तत्काल रोक्न संगठनहरुले माग गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउबा, शिक्षामन्त्री गोपाल मान श्रेष्ठ, त्रिवि उपकुलपति तीर्थराज खनियाँ र मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई बोधार्थ दिएका छन् ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top