पाल्पा असोज– परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ।
मकैखेती छोडेर व्यावसायिक तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तु बाहिरी जिल्ला निर्यात हुन थालेको हो। पाल्पाको तानसेन नगरपालिकाको मदनपोखराबाट गत आर्थिक वर्ष २०७३/७४ मा दुई करोड रुपैयाँ बराबरको तरकारी जिल्लाबाहिर निर्यात भएको छ। मदनपोखराको तरकारीले स्याङ्जा, कास्की, रुपन्देहीसम्मको बजार भेटेपछि किसान पनि खुसी भएका छन्।
यस क्षेत्रबाट करिब २० वर्षदेखि तरकारी निकासी हुन थालेको हो। तरकारीखेती गर्न थालेपछि वार्षिक डेढ लाखदेखि आठ लाख रुपैयाँसम्म आम्दानी लिन सफल भएको किसानहरु बताउँछन्।
मदनपोखरा बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पदमराज पौडेलका अनुसार तरकारीको बीउ, प्राविधिक सहयोग, ऋण र तरकारीको बजार व्यवस्थापन गर्न थालेपछि तरकारी उत्पादन गर्नेको संख्या बर्सेनि बढेको छ।
मदनपोखरामा तरकारी उत्पादन सफल हुँदै गएपछि अहिले तानसेन नगरपालिकाको वडा नं ६, ७ र ९ का स्थानीय बासिन्दासमेत तरकारीखेतीप्रति आकर्षित हुन थालेका छन्। रासस
0 प्रतिकृयाहरू प्राप्त
तपाईंको मत