समाचार / अर्थ

अटो भिलेजलाई व्यवस्थित बनाउने प्रतिबद्धता

मंसिर १० २०७४     .
Auto village


एडीबीले यहीँको मोडलमा काम नगरे तत्काल विकल्प खोजिन
बुटवल, मंसिर १० । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नं. २ का साझा उम्मेदवार विष्णुप्रसाद पौडेलले बुटवलको अटो भिलेजलाई एक वर्ष भित्रमा व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
तत्कालिन र दीर्घकालिन महत्वका योजनाहरुलाई प्राथमिकताका आधारमा पूरा गर्ने भन्दै नेता पौडेलले कुनै पनि तहबाट बजेट र कामको कमी हुन नदिइने प्रतिबद्धता जनाउँदै गुणस्तर नापजाँचका लागि पनि प्राविधिक खटाइने बताए ।
अटो भिलेजमा रहेका व्यवसायीहरु तथा त्यहाँका मेकानिक्सहरुसित आइतबार अन्तरसंवाद गर्दै नेता पौडेलले अटो भिलेजलाई नाम मात्रैको नभई साँच्चिकै नमुना बनाइने उल्लेख गरे । उनले एक वर्षभित्रमा धुलो तथा हिलोमुक्त र व्यवस्थित सडकसहितको अटो भिलेज बनाइने बताए । 
सबै प्रकारका सवारीसाधनहरुको एकै ठाउँमा मर्मत तथा नयाँ बोडी निर्माण हुने यो अटो भिलेजलाई प्रशिक्षण केन्द्रका रुपमा समेत विकास गर्नेगरी अध्यय्न भइरहेको नेता पौडेलको भनाइ थियो । ‘नयाँ–नयाँ उपकरणसहित जनशक्ति उत्पादनका काममा पनि ध्यान दिनुहोस् स्थानीय तह, प्रदेश तह र केन्द्र कुन तहबाट के कस्तो सहयोगको आवश्यकता पर्ने हो मैले सबथोक गर्नेछु ।’
यो अटो भिलेजलाई व्यवस्थित गर्ने भन्दै बुटवल उपमहानगरपालिकाले एसीयाली विकास बैंक (एडीबी) संग सहकार्यमा सार्वजनिक निजी साझेदारी मोडेलको योजना अगाडि सारेको थियो । तर, त्यहाँका व्यवसायीहरुले त्यो अवधारणाको विरोध गरेपछि काम अगाडि बढ्नै सकेन । ‘एडीबीले यहीँको मोडलमा काम गर्नुपर्छ नभए तत्कालै एडीबीलाई यो योजनाबाट खारेज गरिने छ र अर्को विकल्प तयार पारिने छ’ नेता पौडेलको भनाइ थियो । 
पूर्व अर्थमन्त्री समेत रहेका एमाले नेता पौडेलले एडीबीले यहीँको योजना अनुरुप काम सुरु गर्नुपर्ने बताए । एडीबीले यसरी काम नगर्ने हो भने त्यसलाई विदा गरेर नयाँ ढंगले काम गरिने नेता पौडेलले बताए । ‘यदी यहीँको अवधारणाअनुरुप काम गर्न मान्दैन भने एडीबी यो योजनामा आवश्यक छैन्’ उनले भने–‘नमुना अटो भिलेजलाई लपस्तरो कामले व्यवस्थित गर्न सकिँदैन् ।’
त्यहाँका व्यवासायीहरुका तर्फबाट सामूहिक माग पेस गर्दै व्यवसायी टंकप्रसाद पोखरेलले खानेपानी, ढल तथा नालीको निकास र हरियालीसहितका व्यवस्थित सडक निर्माणका लागि ध्यानाकर्षण गराएका थिए । जग्गाको स्वामित्वको कुरा, सुरक्षाको कुरा, धुलो र हिलोको अन्त्यका साथै स्वास्थ्य चौकीको समेत व्यवस्था हुनुपर्ने व्यवसायीहरुको माग रहेको बताए । 
सो अवसरमा यो नमुना अटो भिलेजको अवधारणा ल्याउने र सुरुका योजनाकार एमाले नेता एवम् रुपन्देही क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले अटो भिलेजलाई साँच्चिकै नमुना बनाइने प्रतिबद्धता व्यक्त गरे । उनै श्रेष्ठ बुटवलको मेयरमा निर्वाचित भएका बेलामा बुटवल बजार भरी छरिएर रहेका अटो ग्यारेजहरुलाई एकत्रीत गरेर मैनावगरमा व्यवस्थित बनाउने कामको सुरुआत गरेका थिए । पछि विष्णुप्रसाद पौडेल जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि यहाँको मुहार नै फेरिएको छ । 
व्यवसायीहरुले करोडौ लगानी गरिएको क्षेत्रमा सुरक्षा व्यवस्था, खानेपानी, सडक र ढलनालीको उपयुक्त विकास हुनुपर्ने माग गरेका थिए । ती मागका बारेमा बोल्दै नेताहरु पौडेल, श्रेष्ठ र सोही वडाका अध्यक्ष रमेशप्रसाद नेपालले अटो भिलेजलाई नमुना बनाउने कामको सुरुआत आफुहरुले नै गरेको र टुंगोमा पु¥याउने जिम्मा पनि आफुहरुको नै रहेको प्रतिबद्धता दोहोराए ।
एशीयाली विकास बैंकको आर्थिक सहयोगमा नमुना अटो भिलेज निर्माण गर्ने योजनाका साथ तत्कालिन बुटवल नगरपालिका र अटो व्यवसायीका वीचमा २०५७ सालमा पहिलो पटक सम्झौता गरि व्यवसाय संचालन गरेका थिए । अटो भिलेजमा रहेका ३ सय ५८ व्यवसायी मध्ये ३ सय १४ जना व्यवसायी कम्पनी ऐन अन्तर्गत अटो भिलेज संचालन गर्न स्वीकृती दिई काम अघि बढेको थियो । तर, त्यो काम पनि बीचमै रोकिएको छ । कुल १४ बिगाह ८ कट्ठामा निर्माण हुने अटोभिलेजमा ५० प्रतिशत नेपाल सरकार मार्फत एडीबीको अनुदान, ३० प्रतिसत नगर बिकाष कोषको ऋण र २० प्रतिसत व्यवसायीको गरी करिब २७ करोड लगानी रहने गरी परियोजना सुरु गर्ने योजना थियो । गुरुयोजना अनुरुप अटो भिलेज निर्माण भएमा बाटो, ढल, बिजुली, खानेपानी, बहुउद्देश्यीय व्यवसायीक भवन, पेट्रोल पम्पलगायतका भौतिक संरचना निर्माण हुने छन् । 
 

0 प्रतिकृयाहरू प्राप्त

To Top