समाचार / अन्तरवार्ता

‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन'

मंसिर १५ २०७४     .
Download

 

‘जूनलाई टाढैबाट हेर
नजिकबाट हेर्दा दाग देखिन सक्छ
धब्बा देखियो भने
फेरिफेरि नजिक हेर्न मन नलाग्न सक्छ'

नेकपा एमालेका अध्यक्ष केपी ओलीले हरिभक्त कटुवालका यी पंक्ति सुनाएर कुराकानी थाले। रातको नौ बजेको थियो। ओली लामै बात मार्ने मुडमा थिए। कोठामा कालो चिया ल्याइयो । ओलीले प्रसंग अगाडि बढाए।  ‘हरिभक्तले त्यसो भन्नु पछाडि कारणहरू थिए । तर मचाहिँ के ठान्छु भने, मानिस नजिकबाट हेर्दा अझ दागरहित, अझ बढी प्रिय देखिनु पर्छ । हाम्रो जिन्दगी नजिकबाट हेर्दा पनि राम्रै देखिनु पर्छ।'
 

कसले हेर्दा ओलीजी ? आफूले हेर्दा कि अरूले ?
अरूले हेर्दा । आफूले आफैंलाई हेर्न सक्नु त धेरै माथिल्लो तहको क्षमता हो। सजिलो कुरा होइन। म यहाँ सामान्य तहको कुरा गर्दै छु । सामान्य जीवनमा कसैले हामीलाई नजिकबाट हेरे पनि वा टाढाबाट हेरे पनि त्यो घृणा गर्न लायक हुनु हुँदैन।

तपाईंको जीवनका केही निर्णायक घुम्तीहरूबारे स्मरण गर्न सक्नु हुन्छ ?
‘जरुर। म आठ वर्षको थिएँ। गाउँमा पण्डित बाजे पुराण भन्दै थिए- ‘फलाना राजाले बर्खायामभरि पर्ने पानीका थोपाभन्दा धेरै गाईहरू दान गरे रे।' पण्डितजीका कुरा मैले पचाउन सकिनँ । म आफैं गोठालो जाने मान्छे। त्यसैले सोधें- ‘त्यतिका धेरै गाई राख्ने, बाँध्ने ठाउँ कसरी सम्भव छ ? तपाईंका कुरा पत्याउन सक्दिनँ म।' पण्डितजी आगो भए । तथानाम गाली गरे मलाई। त्यस दिनदेखि मैले शास्त्रमा लेखिएको छ भन्दैमा कुनै पनि कुरालाई जस्ताको त्यस्तै पत्याउन छोडिदिएँ, चाहे त्यो जुनसुकै धार्मिक शास्त्र होस् वा राजनीतिक शास्त्र। मलाई लाग्छ कुनै पनि खाले शास्त्र र पुराणलाई, समय कालको पृष्ठभूमिमा राखेर मात्र बुझिनुपर्छ।

अर्को निर्णायक घुम्ती ?
‘म तेह्र वर्षको हुँदो हुँ। गाउँका ठालुले पञ्चायतमा एक गरिबका विपक्षमा अन्यायपूर्ण फैसला गरे । मैले विरोध गरें । उनले मलाई नराम्ररी हप्काए । बंगारा फुस्काउने धम्की दिए। मैले सहन सकिनँ । तिनको कठालो समातें । तिनी त्यहाँबाट गए। धेरैले मलाई सम्झाए, ठूला मान्छेलाई त्यसो गर्नु हुन्न भनेर । तर त्यो दिनदेखि मेरा निम्ति ठूला मान्छे शब्दको परिभाषा फेरियो । मान्छे ठूलो जन्म र जातले होइन कर्मले हुन्छ भन्ने विश्वास पलायो । त्यसै उद्देश्यका निम्ति काम गर्नुपर्छ भन्ने विचारको बिउ रोपियो मनमा। केही समयपछि म राजनीतिमा लागें।

राजनीतिमा हिंसाको प्रयोगबारे तपाईंका धारणाहरू आज के छन् ? २००७ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्ष, तपाईंहरूको ‘झापा विद्रोह' र ‘माओवादी विद्रोह' मा भएको हिंसा र प्रतिहिंसालाई पछाडि फर्केर हेर्दा आज कस्तो महसुस हुन्छ ?
संघर्षको रूपलाई सिद्धान्तको विषय बनाउन सकिन्न । तत्कालीन परिस्थितिको सन्दर्भमा राखेर मात्र यो प्रश्नलाई हेरिनु पर्छ । कांग्रेसले निरंकुश राणाशाहीविरुद्ध गरेको सशस्त्र संघर्षलाई सकारात्मक रूपले हेरिनु पर्छ । झापा संघर्षलाई पनि निरंकुश पञ्चायती तानाशाहीको परिप्रेक्षमा हेरिनु पर्छ । तत्कालीन दमनको वातावरणमा जनताका लागि शान्तिपूर्ण प्रतिरोधका सबै झ्यालढोका बन्द थिए । झापा आन्दोलनको महत्व यसकारण पनि छ कि, २०१८ सालमा दरबारले कांग्रेसको ढाडै भाँचिदिएको बेला त्यो आन्दोलन नेपालमा गणतन्त्र स्थापनाका लागि पहिलो संघर्ष थियो।

अनि माओवादी आन्दोलनमा भएको हिंसा ?
माओवादीहरूको सशस्त्र संघर्ष एउटा सैद्धान्तिक भूल थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा आधारित थियो । हामीले भुल्नु हुँदैन, त्यसबेला शान्तिपूर्ण संघर्षका बाटाहरू खुलै थिए। संवैधानिक बाटो खुला थियो । राजतन्त्र संवैधानिक भइसकेको थियो। गणतन्त्रवादी धारका मानिसहरू, थोरै संख्यामा भए पनि संसदमा पुगेर त्यसका लागि आवाज उठाइसकेको अवस्था थियो । माओवादी जनयुद्धभन्दा अगाडि निर्वाचनकै माध्यमबाट एमालेले सरकारको नेतृत्व गरिसकेको अवस्था थियो। त्यसैले तपाईंले भनेका तीनवटा संघर्षलाई एकै ठाउँमा राख्नु त्रुटिपूर्ण हुन्छ। कसैलाई मन पर्छ भन्दैमा त्यो गर्न सकिन्न।
साधनका रूपमा हिंसाको प्रयोग नगरेको भए नेपालमा गणतन्त्र यति चाँडो आउँदैनथ्यो भन्ने तर्कसँग तपाईं सहमत हुनु हुन्छ ?
मलाई त्यस्तो लाग्दैन । दरबार हत्याकाण्डपछि प्रधानमन्त्रीले दरबार सिल गर्नु पर्थ्यो। सरकारले छानबिन गर्नु पर्थ्यो त्यसपछि त्यो परिस्थिति बेग्लै ढंगले जानेथ्यो । नेपालमा राजतन्त्र त दरबार हत्याकाण्ड भएकै दिन समाप्त भइसकेको थियो। त्यसपछि यसलाई कृत्रिम रूपले उभ्याइएको मात्र थियो। माओवादी हिंसाबाट राजतन्त्र गएको हो र ? सेना त छँदै थियो नि। सेना पराजित भएको थियो र ? सेना त जस्ताको त्यस्तै बाँकी नै थियो । नेपाली जनताको अभिमत र दबाबबाट राजतन्त्र गएको हो। नेपालमा मात्र होइन, विश्वका कयौं देशमा त्यही भएको छ । इरानको राजालाई कसले हटायो ? सशस्त्र संघर्षबाट होइन। मास मुभमेन्टबाट हटाइयो । मैले त गिरिजाप्रसाद कोइरालालाई भनेकै थिएँ, ‘दरबार सिल गर्नुस्। तपाईं निर्वाचित प्रधानमन्त्री हो। स्थिति नियन्त्रणमा लिनुस्।'

माओवादीको हिंसात्मक संघर्षका कारण राजतन्त्र पतनको गति तीव्र भएको थियो भन्ने बुझाइ तपाईं मानिरहनु भएको छैन ?
त्यसलाई मान्दा र नमान्दा दुवै अवस्थामा यथार्थमा कुनै फरक पर्दैन विजयजी । यस विषयमा हामी लामो छलफल कुनै अर्को दिन पनि गर्न सक्छौं।

तपाईं धेरै लामो समयदेखि पार्टीमा रहेर पनि नेतृत्वमा आउन सक्नुभएन, किन ?
मैले लिडरसिपतिर हेर्ने कोसिस नै गरिन। म अलिकति फरक बनावटको मानिस हुँ। प्रकृति, जगत्, जीवन आदिबारे मेरो अलिकति फरक दृष्टिकोण छ। कतिपय मान्छेले यसलाई आध्यात्मिक दृष्टिकोण पनि ठान्दछन्। म त्यसलाई भौतिकवादी दृष्टिकोण भन्छु। अध्यात्मले मरेपछि परलोकको कुरा गर्छ, म इहलोकको कुरा गर्छु, परलोकको होइन। मान्छे बढी बाँचे सय वर्ष बाँच्ला। पृथ्वी अर्बौं वर्ष पुरानो छ । मलाई मेरो बाजेभन्दा अगाडिको पुस्ताबारे केही थाहा छैन । हामी क्षणभरका निम्ति यहाँ पृथ्वीमा छौं। यस्तो अवस्थामा मान, पद, प्रतिष्ठा, धन आदिका पछाडि म साह्रै जाँगर गरेर हिँड्न सक्ने मान्छे नभएकाले पनि लिडरसिपमा आउने परिस्थिति नबनेको हुन सक्छ । म निरन्तर राजनीतिमा रहें। आफ्नो काम गरें। लागेको बोलें। परिणामको प्रतीक्षा गरिनँ।


तर २०७० सालमा आइपुग्दा मैले निर्णय गरें, अब यसरी भएन। म व्यापक सक्रियताका साथ अघि सर्छु भन्ने निर्णय गरें। साथीहरूले सहयोग गरे। संसदीय दलको नेता चुनिएँ । पार्टीको अध्यक्ष भएँ। संसदीय दलको नेतामा लड्दा मेरो स्वास्थ्य राम्रो थिएन। पार्टी अध्यक्षको निर्वाचनका बेला त म मर्दामर्दै बाँचेर फर्केको थिएँ। पार्टी अध्यक्ष भएपछि मैले निर्णायक तरिकाले काम गर्ने मौका पाएँ । कामप्रतिको समर्पण मसँग हमेशा थियो। तर देखाउन पाएको थिइन, धेरैले देखेका थिएनन्। म छन् त थिएँ हुलमा, तर खेतको डिलमा नबसुन्जेल मान्छेले देख्या थिएनन्। भएको त्यति मात्र हो।

त्यसपछि संविधान निर्माणमा पनि तपाईंको भूमिका रह्यो। त्यसैक्रममा भारतसँग तपाईंले जसरी स्ट्यान्ड लिनुभयो, त्यसलाई देखेर धेरै मान्छे छक्क परे, दुवै देशमा । किनभने ‘महाकाली सन्धि' पछि तपाईंलाई भारत समर्थक भनेर हेरिएको पृष्ठभूमिमा सोधेको।
महाकालीमा हामी लामो समयदेखि असमानपूर्ण व्यवहार भोग्दै आएका थियौं । सीमा नदीको अन्तर्राष्ट्रिय मान्यताविपरीत काम गरेको लामो इतिहास थियो । मैले पाएको जानकारी र सूचनाहरूअनुसार ‘एकीकृत महाकाली र पञ्चेश्वर परियोजना विकास सन्धि' ले गर्दा भारतले आफ्ना गल्ती सुधार्‍यो र हामीले आफ्नो हक स्थापित गर्‍यौं । महाकाली सन्धिका बारे म स्पष्ट छु । त्यो कुनै नयाँ सन्धि होइन । पुराना गल्ती हामीले सच्याइएको सन्धि हो । त्यसैले म त्यो सन्धिको पक्षमा उभिएको हुँ ।
भारतका सम्बन्धमा तपाईंका दृष्टिकोणहरूमा निरन्तरता छ कि मौसमअनुसार तात्ने र सेलाउने बानी छ ?
म एक देशभक्त नेपाली हुँ। नेपालको भूमि, नेपाली जनताको स्वाभिमान र भलाइप्रति बफादार छु। मैले अन्त कतैको शपथ गरेको छैन, नेपालको गरेको छु । हो, मैले पाहुना भएर अन्त खाएको पनि हुँला। पाहुना बफादार हुँदैन धेरै। आफ्नो घरप्रति बफादार हुने हो। कोही पाहुना आयो, तपाईंले उसलाई नास्ता गराउनु भयो भन्दैमा उसबाट धैरै बफादारीको अपेक्षा गर्नु पनि हुन्न। ऊ आफ्नै घरप्रति बफादार हुन्छ भन्ने सोच राख्नु बुद्धिमानी हुन्छ। मेरो कुरा त्यही हो।

मैले हाम्रो देश, हाम्रो भूस्थिति, हाम्रा छिमेकीहरूको अर्थ राजनीतिक व्यवस्थाहरू पनि बुझेको छु। उनीहरूसँग मैत्री सम्बन्ध राखेर मात्रै हाम्रो हित हुन्छ भन्ने पनि मलाई थाहा छ । छिमेकीसँग अनावश्क झमेला बोक्नु हुन्न भन्ने मलाई थाहा छ। हामी कुनै छिमेकीका विरुद्ध केही गर्न सक्ने हैसियतका पनि छैनौं। हामी कसैको कुभलो चिताउन्नौं। हामी फगत आफ्ना हितको रक्षा गर्छौं। यो कुरा हाम्रो कुनै दाउपेच होइन। तर छिमेकीले पनि सम्मानजनक व्यवहार गरून् भन्ने अपेक्षा गर्नु हाम्रो गल्ती हो र ? म विनम्रतापूर्वक भन्न चाहन्छु छिमेकीहरूलाई- सके हामीलाई मद्दत गर्नुस्। नसके हाम्रा आन्तरिक मामिलामा हात हालेर स्थिति नगिजोलिदिनुस्।

अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा म तीन कुरा भन्छु। पहिलो, हामीले सबैले आआफ्नो राष्ट्रिय हितलाई हेर्नुपर्छ । दोस्रो, आआफ्नो राष्ट्रिय हित हेर्दा त्यसभित्र न्याय हुनुपर्छ । मेरो ज्याकेट खोसेर लगेर तपाईंको भलो होला, न्यानो होला । तर मलाई त जाडो हुन्छ नि। न्याय त हुनुपर्‍यो नि। तेस्रो, अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको पनि सबैले ख्याल गर्नुपर्छ। ठूलाठूला देशहरूको प्रतिस्पर्धा होला । भारत र चीनको होला रे। वा अरूको होला रे। हामी सानालाई त्यसमा फस्नु छैन। हामीलाई त बाटो देऊ साथी हो, थिचोमिचो नगर, रगडामा नफसाऊ भन्ने चाहना मात्र छ।

काठमाडौंमा एकथरी वर्षौंदेखि ‘नेपालले चीन र भारतबीच समदूरी (इक्विडिस्टेन्स) राख्नुपर्छ' भन्छन्। के त्यो सम्भव छ ? इक्विडिस्टेन्स (समदूरी) मान्ने कि इक्विप्रोक्सिमिटी (समसामीप्य) ?
म ‘समदूरी' शब्द प्रयोग गर्दै गर्दिन। समसामीप्य (इक्विप्रोक्सिमिटी) रुचाउँछु। छिमेकीसँग मात्र होइन, सबैसँग पनि त्यही हो। निकटताको कुरा हो। दूरीको कुरा होइन। कसैको शरीरमा दुई मिटर कपडाले कोट बनाउन पुग्छ । कसैको शरीर अलि ठूलो होला कपडा अलि बढी लाग्ला । असमानता होइन त्यो। मित्रता भन्ने कुराको गणितीय मापन हुन सक्दैन।

तर जब हामी भारत र चीनसँग समसामीप्यको कुरा गर्छौं, भारतसँग जुन विविध आयामहरूमा सम्बन्ध फैलिएका छन्, त्यो प्रसंगमा मैले यो कुरा झिकेको हो।
समानता र समसामीप्यबाटै यसलाई हेर्नुपर्छ। सम्बन्ध बराबर नहुँदा भनेको के हो ? एउटाले भनेको अलि बढी मान्ने अर्कोले भनेको अलि थोरै मान्ने हो र ? पक्कै होइन । हामी दुवैको उत्तिकै हित चिताउँछौं। हामी आफ्नो राष्ट्रिय स्वार्थअनुसार गर्छौं। सुदामा र कृष्णको मित्रतालाई हेर्नुस् न। दुवैको दिने क्षमतामा धेरै अन्तर थियो। सुदामाले कनिका दिए, कृष्णले घरबंगला दिए। तर त्यसले मित्रतामा फरक पर्‍यो र!

मैले उठाउन खोजेको सन्दर्भ त्यति सजिलो होइन ओलीजी। दुनियाँमा कुन देश यस्तो छ, जसको दुई देशसँग बराबरीको सम्बन्ध छ ? बेलायतको अमेरिका र रूससँग वा जापानको चीन र अमेरिकासँग सम्बन्ध उत्तिकै बराबर छ र ? हुन सक्छ र ?
(लामो मौन) बराबर सम्बन्ध भनेको व्यापार हो ? रिलेसनसिप भनेको व्यापारको परिमाण मात्र होइन। तपाईंले आवागमनका कुरा गर्नु होला, तपाईंले भौगोलिक सहजताका कुरा गर्नु होला। हामीले यहाँनेर छिमेकीसँग बराबरी भनेको हो । घच्चापच्ची नसहने भनेको हो। पारस्परिक सम्मानको कुरा गरेको हो। एकअर्काका जायज, संवेदनशील स्वार्थ र गुनासालाई ध्यान दिनुपर्छ भन्या हो। हामी कसैका विरुद्ध छैनौं। दुवैका विरुद्ध उत्तिकै छैनौं। यो व्यापार र आवागमनको कुरा मात्र होइन।
उदाहरणका लागि मेरो घरछेउमा दुई पसल छन्। एउटा रासन पसल अर्को पान पसल। दुवै मेरा निम्ति जरुरी छन्। एउटाबाट म महिनाको एकपटक रासन किन्छु। धेरै रकम खर्च हुन्छ। महिनामा एकपटक मात्र जान्छु। पान पसलको मित्रकहाँ मेरो धेरै रकम खर्च हुन्न। तर म त्यहाँ दिनको दुईपटक जान्छु। तर दुवैसँग मेरो मित्रता छ। लेनदेनको वा आवागमनको मात्रा तलमाथि होला तर मित्रता दुवैसँग छ।

अहिले हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण कुरा अहस्तक्षेपको हो। हामी फगत यति चाहन्छौं, सके मद्दत गर्नुस्। नसके हाम्रो आन्तरिक मामिलामा हात हालेर नगिजोलिदिनुस्। सबैभन्दा मुख्य कुरा त्यो हो।

भारत सायद यसकारण अत्यधिक चासो राख्छ किनभने सिमाना खुला छ, नेपालको बाटो भएर भारतमा आतंक मच्चाउन चाहनेहरूको विगत पनि त छ नि । अथवा तिब्बतलाई असन्तुलित बनाउन पनि त सकिन्छ नि ?
त्यो दुवै कुरा गर्न पाइँदैन। मिल्दैन। हुन दिइँदैन। छिमेकी मित्रहरूका जायज चासो रक्षा गर्न हामी यहाँ छैनौं र ? सरकार छैन र ?

तर नेपालको राज्य यति कमजोर छ कि भारतीयले हाम्रो विश्वास नगर्न पनि सक्छन् नि। वा नेपाल सरकारको क्षमता बाहिरका कुरा पनि हुन सक्छ नि ती कुराहरू ?
अनि, बिर्सनु भो अमेरिकामा पनि टिन टावर खस्या होइन ? पेन्टागनमा प्रहार भएको होइन ? अब अमेरिकाले कसलाई अपजस लगाउने ?

यति वर्षदेखि यहाँ जुन प्रकारका गतिविधिहरू भए, त्यसले गर्दा भारतले के हासिल गर्‍यो ?
केही न केही। केही पाएन। एउटा-एउटा मान्छे बोकेर उसले पनि बेकारको हैरानीबाहेक केही पाएन। एजेन्सीहरूका केही मान्छेहरूको निजी अहम् तुष्टि भयो होला। भारतका केही जायज संवेदनशीलता होलान्, हामी बुझ्छौं तिनीहरूलाई। हाम्रा पनि केही जायज संवेदनशीलता छन्। खोइ हामी त त्यहाँ हात हाल्न जाँदैनौं। फलानो मन्त्री चाहियो, फलानो सचिव चाहियो भनेर भन्छौं र ? भारतले पनि बुझिदिनु पर्छ।

म के भन्न चाहन्छु भने नेपाल भारत अत्यन्तै सम्बन्ध सुमधुर र विश्वसनीय हुनुपर्छ। नेपाल चीन सम्बन्ध पनि अत्यन्तै सुमधुर र विश्वसनीय हुनुपर्छ। हामीले एकअर्काप्रति वैरभाव किञ्चित मनमा पनि राख्नु हुँदैन । आशंका पनि गर्नु हुदैन। सहयोगी भावना हुनुपर्छ। एकअर्काका जायज संवेदनशीलतालाई सबैले बुझिदिनुपर्छ।

मरेपछि मलाई सम्झिराख्नु पर्छ जस्तो लाग्दैन। बिर्सिदिए हुन्छ। मेरो गुणगान गर्नु पर्दैन। मरेपछि मलाई लात्तााले हाने पनि माला चढाए पनि केही फरक पर्दैन। अहिले बाँचेको बेला लात्ताले हाने अलिकति चित्ता दुख्छ।
उनीहरूले आफ्ना जायज संवेदनशीलता र चासोहरू व्यक्त गरे त्यो तपाईंले हेर्नुहुन्छ ?
किन नहेर्ने ? जायज सरोकार छन् भने जरुर हेरिन्छ।

भारतले आफ्ना संवेदनशीलताहरू ‘आफ्ना खास' मान्छे सत्तामा पुगेपछि मात्र सम्बोधन हुन्छन् भन्ने मानसिकताबाट मुक्त भएर नेपालमा जोसुकै सरकारमा होस्, छिमेकमा जोसुकै सरकार होस्, त्यसको हातमा संवेदनशीलताको सूचीपत्र थमाएर अगाडि बढ्ने नयाँ थालनी गर्दा बढी राम्रो हुन्छ कि ? बेकारको अन्तहीन, गैरउपलब्धिमूलक उछलकुद भन्दा ?
हो, गर्नुपर्ने त्यो हो। हामी पनि त्यही गर्छौं। हाम्रा पनि कुनै जायज विषयहरू छन् भने हामी भारतलाई प्रस्ट भन्छौं, चीनलाई पनि भन्छौं। उहाँहरूका पनि केही छन् भने, हामीलाई प्रस्ट भन्नुहोला। यहाँ उछलकुद गर्ने होइन। हामी त्यसलाई सम्बोधन गर्छौं। मैले सन् २००० तिरै भारतका केही नेतासँग कुरा गरेको थिएँ । भनेको थिएँ, ‘अब हामी नेपाल भारत सम्बन्ध सञ्चालनका पुराना मान्यता, तौरतरिका परिवर्तन गरौं। विश्वव्यापी सर्वस्वीकार्य तरिकाले अगाडि बढौं। हामीलाई सबैभन्दा चित्त दुख्ने कुराचाहिँ हाम्रा राजनीतिक मामिलाहरूमा हस्तक्षेप हो।

सत्तरी वर्षयताको अनुभव हेर्दा भारतले यहाँ आफैं हस्तक्षेप गर्छ कि हामी नै उसलाई हस्तक्षेपको निम्तो दिन्छौं अनि बेकारको हल्ला गर्छौं ?
यो तपाईंले बहुतै महत्वपूर्ण कुरा उठाउनुभयो। सही हो त्यो कुरा। ताली एकोहोरो बजेको छैन । पहिलेदेखि बानी पर्‍यो तिनीहरूलाई। भारतमा बेलायती शासन चल्दा पालादेखि यो क्रम पनि चल्दै आएको छ। कानमा उसले मन्त्र फुक्दा हामीलाई जतिसुकै अप्रिय लागे पनि, आफ्ना अप्रसन्नता हामीले जाहेर गर्न सकेनौं । यता हामीलाई पनि मानसिकता बन्दै गयो कि उता नसोधी हुँदैन। त्यो एउटा समस्याका रूपमा रह्यो । आज म तपाईंलाई फगत यति मात्र भन्दै छु कि यो परम्परालाई छोडेर आपसी सम्बन्धको नयाँ युग थालनी गरौं।

दरबार हत्याकाण्डपछि प्रधानमन्त्रीले दरबार सिल गरी छानबिन गर्नुपथ्र्यो। राजतन्त्र त त्यसै दिन समाप्त भइसकेको थियो। त्यसपछि यसलाई कृत्रिम रूपले उभ्याइएको मात्र थियो।
तपाईंले यसो भन्नुभयो भन्दैमा तपाईंलाई ‘एन्टी इन्डियन' त ठानिनु हुँदैन नि।
म किन एन्टी इन्डियन हुने ? के कारणले हुने ? कसरी हुने ? हुनुपर्ने कुरै होइन। कोही पनि नेपालको हित चिताउने मान्छे एन्टी इन्डियन हुन सक्दैन। त्यसो भनेर यो अर्थ नलागोस् कि इन्डियाले हेप्दाखेरी नसहनु एन्टी इन्डियन हुनु होइन। इन्डियाले बुझ्नुपर्छ, हामी थिचोमिचोभित्रका एउटा रैती राज्य होइनौं। मित्र हौं।

विगत पचासौं वर्षदेखि जुन नीति भारतले नेपालमा अख्तियार गर्‍यो, त्योबापत के पायो त ?
केही पनि पाएन। केही मान्छेहरू... केही एजेन्सीका मान्छेको अहम् तुष्टि भयो होला, अरू केही भएन। दुवै देशका जनता विकासका अपार सम्भावनाबाट वञ्चित रहे । दुईचारजना मानिसको खुद्रा स्वार्थका कारण दुई देशका बीचमा यत्रो तनाव देखियो, जुन तनाव देखिनुपर्ने कुनै कारण नै छैन। होला, सीमा क्षेत्रमा सानातिना समस्या आउने जाने गरिरहन्छन् तर अब मूलभूत कुराहरूमा खुलस्त रूपले रियलाइज गरेर अगाडि जानुपर्छ। पारस्परिक लाभ, पारस्परिक सम्मान बढाउनु पर्छ, त्यसैबाट पारस्परिक विश्वासको वातावरण बन्छ । त्यसका लागि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन।

भारत नेपालका प्रति विल्कुलै निरपेक्ष बस्यो भने खाली भएको ठाउँमा चीनलाई ल्याउने ? अमेरिकालाई ल्याउने ?
खाली किन ? यहाँ हामी छैनौं ? हामी सरकार चलाउन सक्दैनौं र ? आपसी मित्रताका सकारात्मक र प्रभावकारी नीति बनाउन सक्दैनौं र ?

बहुमत आफैंमा केही होइन। बहुमत त बेलाबखत कांग्रेसले पनि ल्याएकै थियो। भिजन र कार्यान्वयन क्षमता नभएको बहुमतको काम छैन ।
अब हाम्रो ताजा राजनीतिका केही प्रश्न सोधौं। अहिले जुन गठबन्धन तपाईंहरूले बनाउनु भएको छ, त्यो ‘वाम गठबन्धन' हो या ‘कम्युनिस्ट गठबन्धन' हो ? के नेपालमा अब साम्यवादी व्यवस्था ल्याउने सुरमा हुनुहुन्छ ?
यो वस्तुतः ‘कम्युनिस्ट गठबन्धन' पनि होइन र यो ‘वामपन्थी गठबन्धन' पनि होइन । कम्युनिस्ट हाम्रो पार्टीको नाम हो। तपाईंको नाम ‘विजय' हो। तपाईंको नाम विजय हुँदैमा तपाईंले हर पटक जित्ने हो र ? हर पटक जित्ने हो भने त तपाईंसित हर पटक भेट्नेबित्तिकै मैले जितौरी माग्नु पर्‍यो नि। तपाईंको नाम मात्र त विजय हो। हो, त्यसैगरी एउटा सन्दर्भमा पार्टीका नामहरू राखिएका हुन्छन्।

‘साम्यवाद' एक ज्यादै सुन्दर कल्पना हो, उच्चतम मानवीय समाजको सृजना गर्नका निम्ति गरिएको परिकल्पना हो । हाम्रो सरदर भाषामा राम राज्य हो । कल्पवृक्ष जस्तो । तर के अहिलेकै अवस्थामा त्यहाँ पुग्न सकिन्छ ? सकिँदैन। तर त्यो सुन्दर दूर उद्देश्यका लागि कल्पना त गर्न पाइन्छ नि । अरूको त कुरै छोडौं, मेरो आफ्नै पार्टीका कतिपय मान्छे पनि त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ।

हालका लागि बुझ्न सजिलो होस् भनेर म कम्युनिस्टहरूलाई तीन प्रकारले विभाजन गर्छु। फिलोसफिकल कम्युनिस्ट, आइडियोलजिकल कम्युनिस्ट र पोलिटिकल कम्युनिस्ट। अहिलेका अधिकांश कम्युनिस्ट पोलिटिकल कम्युनिस्ट हुन्। आवश्यकता, लाभ, फाइदा, विकास आदिका लागि कम्युनिस्ट भएकाहरू । अहिले नेपालमा अधिकांश पोलिटिकल कम्युनिस्ट छन्। नेपालमा मात्र होइन संसारमै यस्तो छ।

तपाईं यो भन्दै हुनुहुन्छ कि आज फिलोसफिकल कम्युनिस्ट वा आइडियोलजिकल कम्युनिस्टको होइन, पोलिटिकल कम्युनिस्टको युग छ ?
अहिले मेरो अगाडि एकजना वरिष्ठ पत्रकार हुनुहुन्छ विजय कुमार पाण्डे (हाँस्दै), उहाँ भन्ने गर्नुहुन्छ, आजको युग ‘वैश्य युग' हो । त्यो भनाइमा सत्यता नभएको होइन । वैश्य युग भनेको पसल वा बजारमा मात्र सीमित कहाँ छ र ! राजनीतिमा पनि त त्यो हावी हुँदैछ।

हो ओलीजी, वैश्य युगको अप्रभावित कुन क्षेत्र पो छ र ? मिडियामा पनि त्यसको प्रभाव टडकारो छ।
हो । त्यसकारण, कम्युनिस्ट पार्टीभित्र पनि त्यो छ । यो कुरा धेरैका लागि कन्फ्युजिङ जस्तो लाग्न सक्छ। यो कुरा बुझ्न सजिलो छैन।

माओवादीसँग तपाईंको गठबन्धन अब कति लामो चल्छ ?
अब हामी पार्टी नै एकीकरण गर्छौं।

के म अहिले नेपालको भावी प्रधानमन्त्रीसँग कुराकानी गर्दै छु ?
म जुन जिम्मेवारीमा छु, त्यहाँ बसेर मैले यो प्रश्नको जवाफ आजै दिन मिल्दैन। जनता र पार्टीको निर्णय प्रतीक्षा गर्नुपर्छ। केही दिनमा नै तपाईंले थाहा पाउनु हुनेछ।

एकथरी भन्दैछन्, यदि तपाईंहरूले जित्नुभयो भने, नेपालमा अधिनायकवाद स्थापित हुनेछ ?
तपाईंलाई के लाग्छ ? त्यसो होला ? म जति डेमोक्रेसीका लागि दुःख पाएको मान्छेले त्यसो गर्ला ? जब म जेलमा थिएँ, बाँचेर प्रधानमन्त्री हुँला भनेर त सोच्न पनि सक्दिनथें । लोकतन्त्रप्रतिको मेरो निष्ठा सौदाबाजीको विषय होइन । जुन कुरा मैले जीवनभरि गरिन, अब गरूँला ?

अब अन्तमा, सबथोक त जनतालाई विकासको ‘डेलिभरी' हुन्छ कि हुन्न भन्नेमा टुंगिनेछ। जनताको जीवनमा सुधार हुन्छ कि हुन्न भन्ने प्रश्नमा सबै प्रश्न समाप्त हुनेछन्। काठमाडौंका मेयरको असफलताका अनेकन उदाहरण हाम्रै अगाडि छ । राजनीतिक स्थिरता त पञ्चायतमा पनि थियो नि!
बहुमत आफैंमा केही होइन। बहुमत त बेलाबखत कांग्रेसले पनि ल्याएकै थियो । भिजन र कार्यान्वयन क्षमता नभएको बहुमतको काम छैन। ढंग पुर्‍याइएन भने ‘स्ट्याबिलिटी' (स्थिरता) स्ट्याग्नेसन (जडता) मा परिणत हुने खतरा पनि हुन्छ । हामी त्यो विषयमा सतर्क छौं।

अब तपाईंको के राजनीतिक महत्वाकांक्षा छ ?
केही छैन। देशमा विकास भइदिए हुन्थ्यो भन्ने महत्वाकांक्षा चाहिँ छ।

मान्छेले तपाईंलाई कसरी सम्झून् जस्तो लाग्छ ?
सम्झनु पर्छ जस्तो लाग्दैन। बिर्सिदिए हुन्छ। मेरो गुणगान गर्नु पर्दैन। मरेपछि मलाई लात्ताले हाने पनि माला चढाए पनि केही फरक पर्दैन। अहिले बाँचेको बेला लात्ताले हानेको अलिकति चित दुख्छ। मरेपछि मलाई कसैले लात्ताले हाने भने म चित्त दुखाउन्न।

तपाईं आफ्नो जीवनसँग सन्तुष्ट हुनु हुन्छ ?
म जेलको काल कोठरीमा हुँदा पनि सन्तुष्ट थिएँ। आज पनि सन्तुष्ट छु।

तपाईं आफ्ना राजनीतिक विपक्षीलाई ज्यादै निर्मम कटाक्ष प्रहार गर्नु हुन्छ। एकताका प्रचण्डजीमाथि गर्नु हुन्थ्यो आजभोलि त्यो देउवाजीमा सरेको छ।
सत्यमाथि मेरो विश्वास मूर्खताको हदैसम्म छ भन्दा हुन्छ । विगतमा कसैले बेठीक गरेको बेला आक्रमण गरेको हो। आज पनि मेरो बानी त्यही हो।

नेपाली जनताका आउने दिन कस्ता होलान्। जस्ताको त्यस्तै रहला कि फरक पर्ला ?
पुरानै हालतमा हामी छैनौं । विगतमा क्षेत्रमा उपलब्धि भएका छन्। अलि उतारचढावमा हामी रह्यौं । राजनीतिक स्वार्थ धेरै हावी भए। बोक्ने, उचाल्ने, पछार्ने काम अलि बढी भए । अपेक्षित विकास भएन । तर केही भएन भन्नु गलत हो। सत्तरी वर्षअघि त हामी अन्धकार युगमा थियौं । अब हामी राम्रा दिनहरूतर्फ अगाडि बढ्ने छौं।

यति भनेर ओली रोकिए। घडीले रातको साढे दस बजाउँदै थियो। फर्कने बेला, ढोकामा मैले उनलाई त्यही कविता स्मरण गराएँ, जो उनैले मलाई सुनाएका थिए।

छुट्टिने बेला हात समातेर ओलीले भने, ‘नजिकबाट हेरियो भने पनि म त्यति खराब देखिने छैन विजय।'

मैले दुई शब्दको जवाफ फर्काएँ- हेर्दै जाऔं। साथै मनमनै यो पनि सोचें उनलाई म हरिभक्त कटुवालको भाखामा हेरू कि उनको आफ्नै शैलीअनुसार बुझूँ।
फर्कने बाटोमा म यो पनि सोच्दै थिएँ, के साँच्चिकै नेताहरूले सोचेजस्तो गरेर एमाले र माओवादी पार्टीका भोटहरू एकअर्काको चिह्नमा सरुवा होलान् त ? समानुपातिक कोटामा जनताले शीर्ष तहमा भएका गठबन्धनहरूलाई गणितीय हिसाबले सदर गर्लान् त ?

साभारः अन्नपूर्णपोष्ट

0 प्रतिकृयाहरू प्राप्त

To Top