बुटवल, कार्तिक २९
गर्मीका कारण कीराहरूको शुक्राणु घट्ने र तिनमा बाँझोपन हुन सक्ने एउटा अनुसन्धानले देखाएको छ।
वैज्ञानिकहरूले प्रयोगशालामा खपटे कीराको एउटा जाति घुनलाई उष्णलहर दिँदा तिनका भालेको प्रजनन क्षमतामा उल्लेख्य ह्रास भएको पाइयो।
त्यस्तो प्रभाव खपटे कीराका सन्तानमा पनि सर्न सक्ने सम्भावना हुन्छ।
थप अध्ययनबाट जलवायु परिवर्तनका कारण विभिन्न कीराहरूको सङ्ख्या घटेकोबारे स्पष्ट हुन सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।
जलवायु परिवर्तनले विश्वभरि नै जैविक विविधतामा प्रभाव पारेको छ। तर के कारणले त्यो हुन्छ भन्ने स्पष्ट रूपमा बुझ्न भने सकिएको छैन।
यो अनुसन्धानको नेतृत्व गरेका युनिभर्सिटी अफ इस्ट याङ्लियाका प्राध्यापक म्याट गेज भन्छन्, "कीराहरूको विविधतामा भएको ह्रासबारे यसले स्पष्ट पार्छ कि पार्दैन त्यो त हामीलाई थाहा छैन, तर प्रजनन क्षमता सीमित हुनु पक्कै पनि राम्रो सङ्केत हैन।"
अनुसन्धानकर्ताहरूले अध्ययनका लागि चार लाख प्रजाति भएको खपटे कीरा छानेका थिए। यी कीराहरूले अहिलेसम्म चिनिएका प्राणी प्रजातिको एकचौथाइ भाग ओगट्छन्। कीराहरू ठूलो सङ्ख्यामा हराउँदा पर्यावरणमा ठूलो प्रभाव पर्छ।
जर्मनीमा गरिएको एउटा अध्ययनले झन्डै ३० वर्षको अवधिमा ७५ प्रतिशतभन्दा बढी उड्ने कीराहरू घटेको देखाएको छ। ठूलो वर्षा हुने पोर्टो रिकोका वनमा पनि त्यस्तै प्रभाव देखिएको छ।
'नेचर कम्युनिकेशन्स' जर्नलमा प्रकाशित नयाँ अनुसन्धानका अनुसार रेड फ्लोर बीटल अर्थात् घुनको एउटा प्रजातिलाई प्रयोगशालामा पाँच दिन उष्णलहर दिँदा भालेको शुक्राणु उत्पादन गर्ने क्षमता तीनतिहाइले घटेको पाइयो।
तर त्यसबाट पोथी कीरा भने प्रभावित भएनन्।
उष्णलहरले भाले कीराले उत्पादन गर्न सक्ने सन्तानको सङ्ख्या आधा घट्यो। दोस्रो चोटि उष्णलहर दिँदा भालेमा बाँझोपन नै देखियो। सो अध्ययनमा संलग्न किर्स सेल्स भन्छन्, "हाम्रो अनुसन्धानले उष्णलहरले भालेको प्रजनन क्षमता आधा बनाइदिन्छ भन्ने देखाउँछ। र, यो प्रभावमा अचम्म लाग्नेगरी एकरूपता थियो।" अरू अनुसन्धानले गर्मीले मानव र अन्य स्तनधारी प्राणीमा पनि भालेको प्रजनन क्षमता नाश गर्न सक्ने देखाएका छन्।
जलवायु परिवर्तनका कारण उष्णलहर अझ बढी सामान्य हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यसबाट जनावर र मानिसको स्वास्थ्यमा प्रभाव पर्ने देखिन्छ।
नाटकीय रुपमा किराको संख्या घटेकोमा चिन्ता
जर्मनीका वैज्ञानिकहरुले गरेको एउटा अध्ययनले ३० वर्ष यता उड्ने प्रजातिहरुका किराको संख्या ठूलो परिमाणमा घटेको निष्कर्ष निकालेका छन्।
जर्मनीका ६३ वटा प्रकृति संरक्षण केन्द्रहरुमा गरिएको अध्ययनले पुतली र मौरी सहित विभिन्न प्रजातिका उड्ने किराहरुको संख्या ७५ प्रतिशत भन्दा बढ्ताले घटेको देखाएको छ।
किराहरुले पराग सेचन प्रकियामा महत्वपूर्ण भूमिका खेल्छन् र उनीहरु चराहरुको आहाराका प्रमुख श्रोत हुन्।
उक्त अध्ययनले किराहरुको संख्यामा आएको त्यस्तो नाटकीय कमीको कारण भने उल्लेख गरेको छैन।
संरक्षण केन्द्रहरुमा सन् १९८९ देखी २७ वर्षसम्म गरिएको अध्ययनले किराको संख्या ठूलो परिमाणमा घटेको देखाएको हो।
वैज्ञानिकहरुले सबै प्रकारका वासस्थान, जमीन र मौसम भएका क्षेत्रमा किराको संख्या घटेको भन्दै त्यस्को कारण पत्ता लगाउन थप अनुसन्धान गरिनुपर्नेमा जोड दिएका छन्।
संख्यामा आएको गिरावटका कारण किराका कारण लाग्ने रोगका विरामी घट्यो या घटेन भनेर पनि अध्ययन गरिनुपर्ने बताएका छन्।
अनुसन्धानकर्ताहरुले किरा र अन्य जीवित प्रजातिको संरक्षणका लागि स्थापना गरिएका प्राकृतिक केन्द्रहरुमा नै यस्तो नाटकीय घटनाक्रम देखिनु चिन्ताजनक भएको जनाएका छन्।
वैज्ञानिकहरुले धेरैवटा प्रकृति संरक्षण केन्द्रहरु खेतीयोग्य जमिन भएका क्षेत्र नजिक रहेको र खेतमा प्रयोग गरिने किटनाशक औषधीका कारण त्यस्तो भएको हुनसक्ने संकेत भने गरेका छन्।
किरा नष्ट हुँदा त्यसले पृथ्वीको जीवनचक्रमा नै दुरगामी प्रभाव पार्ने चिन्ताहरु प्रकट भएका छन्।
धेरै प्रकारका चराको प्रमुख आहारा किराहरु नै हुन्।
त्यसबाहेक अन्य उभयचर, चमेरा र घर्सने प्रकारका जीवजन्तु पनि किरामा निर्भर छन्।
विगतमा गरिएका अध्ययन भन्दा अहिलेको अध्ययनले देखाएको किराको क्षतिको परिमाण सबैभन्दा ठूलो हो।
सन् १९७३ देखि २००२ सम्म ब्रिटेनको चारवटा स्थानमा गरिएका अध्ययनका क्रममा एक ठाउँमा मात्र किराको संख्या घटेको पाइएको थियो।
प्राप्त प्रतिकृयाहरू