काठमाडौं,पुष २५
मुलुकले पछिल्लो पाँच महिनामा कूल निर्यातभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ । बढ्दो सवारी साधनको प्रयोगसँगै विकास निर्माणको कामले तिव्रता पाएपछि इन्धनको आयात वृद्धि भएको हो । अघिल्लो वर्षको तुलनामा इन्धन आयात १४ प्रतिशतले वृद्धि भएको छ ।
मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो नम्बरमा पर्छ । विकल्प नभएको इन्धनको आयात बढ्दै गएकाले यसले व्यापार घाटा वृद्धि गर्न सघाउ पु¥याएको छ । पाँच महिनामा मुलुकबाट ३७ अर्ब रूपैयाँको निर्यात हुँदा ८७ अर्ब ९९ करोड १६ लाख ९५ हजार रूपैयाँको इन्धन आयात भएको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा ५५ अर्ब ५६ करोड ३० लाख ६४ हजार रूपैयाँको इन्धन आयात भएको थियो ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले इन्धनको खपतवृद्धिसँगै आयात दर बढ्दै गएको बताए । विकास निर्माणको काम भइरहेकाले पनि इन्धनको आयात बढ्दै गएको उनको भनाइ छ । निगमका अनुसार सो अवधिमा पेट्रोल २ लाख ३९ हजार ८ सय १७ किलोलिटर आयात भएको छ । यस्तै डिजेल ६ लाख ५६ हजार ६ सय १६ किलोलिटर, मटीतेल १० हजार ५ सय २४ किलोलिटर आयात भएको निगमको भनाइ छ । सो अवधिमा हवाई इन्धन ८८ हजार ७ सय ४२ किलोलिटर र खाना पकाउने एलपी ग्यास १ लाख ८६ हजार १ सय ६६ मेट्रिक टन आयात भएको छ ।
लोडसेडिङ घटे पनि प्रत्येक महिनामा इन्धनको आयातदर बढ्दै गएको छ । निगमका अनुसार हाल मासिक सरदर ८० हजारदेखि १ लाख किलोलिटर डिजेल माग छ । त्यस्तै पेट्रोल मासिक २५ देखि ३० हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार मेट्रिक टन माग छ । गत डिसेम्बरमा मात्र ४० हजार मेट्रिक टन ग्यास आयात भएको थियो ।
निगमका अनुसार गत जुलाईमा १ लाख ५ हजार ४ सय ५४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै अगष्टमा १ लाख ९८ हजार ८ सय ७, सेप्टेम्बरमा १ लाख ९२ हजार ६ सय २४, अक्टोबरमा २ लाख ३९ हजार २ सय ४० किलोलिटर इन्धन आयात भएको छ । यस्तै नोभेम्बरमा २ लाख २९ हजार ९ सय २९ र डिसेम्बरमा २ लाख १५ हजार ८ सय २६ किलोलिटर आयात भएको निगमले जनाएको छ ।
पाँच महिनामा इन्धन आयातको अवस्था
पेट्रोल २,३९८१४ किलोलिटर
डिजेल ६,५६६१६ किलोलिटर
मट्टितेल १०,५२४ किलोलिटर
हवाई इन्धन ८८७४२ किलोलिटर
ग्यास १,८६१६६ मेट्रिक टन
प्राप्त प्रतिकृयाहरू