नेकपा शीर्ष नेताको 'गोप्य छलफल चन्द्रागिरीमा'

राजनीति चैत्र २९ २०७५ ekhabarnepal
88

काठमाडौं चैत २९,
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले बिहीवार साँझदेखि चन्द्रागिरीमा गोप्य छलफल गरिरहेका छन् ।

बैठक यति गोप्य छ कि स्वयं अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालय पनि बैठकमा को-को छन् भन्नेबारे अनविज्ञ रहेको प्रतिक्रिया दिन्छ । केन्द्रमा पार्टी एकता घोषणा भएको एक वर्ष बित्न लाग्दा पनि जिल्लासहित तल्ला कमिटीहरूको एकता हुन नसकिरहेका बेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू चन्द्रागिरी पुगेर गोप्य छलफलमा जुटेका हुन् ।

'मैले बुझेसम्म उहाँहरू पार्टी एकीकरण र मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा छलफल गर्न चन्द्रागिरी पुग्नुभएको हो,' नेकपाका एक नेताले भने, 'विवादित प्रदेश कमिटी र लामो समयसम्म पूरा हुन नसकेको जिल्ला तहको एकीकरणका लागि अध्यक्षद्वय र अन्य नेताहरू एकजुट हुनुभएको हो ।'

यता प्रचण्डको सचिवालयले समेत बैठक बसेको पुष्टि गरेपनि बैठकमा को-को सहभागी छन् भन्नेबारे अनविज्ञता प्रकट गर्‍यो । 'उहाँहरू हिजोदेखि बैठक बसिरहनुभएको छ,' सचिवालयका एक सदस्यले भने, 'को-को हुनुहुन्छ त्यो पनि थाहा छैन र कुन-कुन विषयमा छलफल भइरहेको छ त्यसमा पनि हामी जानकार छैनौं ।'

लामो समयसम्म पार्टीभित्र एकीकरणको मुद्दा थाती रहेको छ । नेकपाका अध्यक्षद्वयलाई पार्टी एकीकरणका बाँकी कार्यभार पूरा गर्नुपर्ने दबाब छ । त्यसका साथै लामो समयदेखि उठिरहेको मन्त्रीमण्डल हेरफेर गर्ने कुराको पनि औपचारिक टुंगो लगाउन बाँकी रहेको छ ।

स्रोतका अनुसार बैठकमा अध्यक्षद्वयका अलावा महासचिव विष्णु पौडेल तथा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल समेत सहभागी छन् । बैठकमा उपत्यका विशेष जिल्ला कमिटी गठन गर्ने विषयमा छलफल भइरहेको स्रोतले बतायो ।  

प्राप्त प्रतिकृयाहरू

To Top