डी.आर.घिमिरे
बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रको शिलान्यास गरेर नेकपाका महासचिव, यस क्षेत्रका सांसद एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै अपराध गरेका थिएनन् । गरेका थिए त यस क्षेत्रका ब्यवसायी, उद्योगी र विविध पेशाका ब्यक्तिको चाहनालाई मूर्त रुप दिँदै थिए । उनकै सक्रियतामा वन्न लागेको यो केन्द्रको शिलान्यास हुनु उनकै लागि पनि खुशीको कुरा हो । यसले सवैमा एक प्रकारको उत्साह ल्याएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्र वन्दा यो क्षेत्रकै लागि गर्वको विषय वन्छ । वनेको छ ।
तर, नेपाली कांग्रेसवाट नगरप्रमुखमा पराजित खेलराज पाण्डेले त्यस दिन जग हसाई गरे । अर्थात् शिलान्यास गर्न आएका यसै क्षेत्रका जनप्रतिनिधि पौडेलविरुद्व प्रचा छरेर दरिद्रता प्रदर्शन गरे । घटना भएको पाँच मिनेटमै केही अनलाइनमा समाचार प्रकाशन गरेर शेयर पनि गरे । पहिला त लाग्यो यो काम उनले नभएर अरु कसैले गरे होलान् । किनकि उनका लागि यो त्यति सुहाउँदो काम थिएन । विडम्वना उनलेनै पर्चा छरे कि छरेनन् भनेर प्रश्न उठाउने ठाउँ पनि दिएनन् उनले । किनकि समाचारमा सगौरव भनियो–पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब तीन सय पर्चा छरियो । त्यस काममा नेपाल तरुण दलका पूर्व केन्द्रिय सचिव चिरञ्जिवी जोशी र काँग्रेसको प्रशिक्षण बिभागका सदस्य मदन कट्टेल समेत रहेछन् । कट्टेल बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक पनि हुन् । अर्थात् पाण्डेले एउटा क्रान्तिकारी (?) ले गर्ने काम गरे । त्यसोत उनले कालो झण्डा देखाउनका लागि पनि विद्यार्थी परिचालन गर्न खोेजेका रहेछन् । विडम्वना कोही पनि तयार भएनछन् । अर्थात् विद्यार्थीले जति परिपक्कता पनि देखाउन सकेनन् पाण्डेले । शायद पर्चा छर्न पनि अरु कोही तयार नभए पछि उनी आफै लागेको हुनुपर्छ ।
पाण्डे कार्यक्रममा अतिथिको रुपमा वोलाइएका ब्यक्ति हुन् । उद्घोषकले मञ्चमा पनि वोलाए । उनी गएनन् । लज्जावोध भए होला । पर्चा छर्नुको सट्टा उनी मञ्चमा गएर कुटनीतिक रुपले वोलेको भए अझ प्रभावकारी हुने थियो । राजनीतिक सस्कार हुन्थ्यो । उनी नेताको रुपमा स्थापित हुन्थे । निर्वाचनमा जय पराजय हुनु सामान्य प्रक्रियाको कुरा हो । पाण्डेले लोकतान्त्रिक विचारलाई आत्मसात गरेकोले त्यति वढी आक्रोस हुनु पर्ने हैन । विडम्वना उनीजस्तो ब्यक्तिले अराजनीतिक चरित्र प्रदर्शन गरे । यस्तो चरित्रले वहुलवादको विकास हुन सक्दैन । भन्न त उनले भन्लान् भ्रष्टाचारको विरोध गरेको हूँ । तर, पाण्डे संविधान र नियम–कानुन मान्ने ब्यक्ति भएकोले कानुनी रुपमा प्रमाणित नभएको विषयमा प्रचा छर्दै हिड्नु विप्लवका लागि त सुहाउला उनलाई सुहाउँदैन ।
अनलाइनको समाचारलाई विश्वास गर्ने हो भने निर्वाचनअघि नै सो प्रदर्शनी केन्द्रको नक्सा तयार भएको र बुटवल नगरको सर्वदलीय बैठकबाट पारित भइसकेको थियो । यसो भए के एक अरवको यो आयोजना उपमहानगरपालिकाको हो ? तथ्यले भन्छ हैन । उपमहानगरले यो गर्न संभव पनि छैन । यो त संघीय सरकारको आयोजना हो । यो आयोजनाका लागि पौडेलले धेरै पापड वेलेका छन् । शायद यही कारणले हुनुपर्छ शहरी विकास तथा भवन निर्माण विभागले यो कार्यक्रमको आयोजना गरेको थियो । उसो भए के खेलराजले यति कुरा पनि थाहा पाएनन् ? यसो भन्दा पनि उनको अवमूल्यन हुने हो कि ?
कम्तिमा उनले यति त बुझ्नु पर्दथ्यो कि हरेक आयोजनाको शिलान्यास वा उद्घाटन गर्दा जो सत्तामा हुन्छ प्रायः उसैले गर्छ । यसमा पनि यो आयोजनाको मूल नाइके विष्णुप्रसाद पौडेलनै हुन् । यसो भन्नका लागि उनलाई प्रशंसा गर्नुपर्दैन, आलोचना गरेर भन्दा पनि हुन्थ्यो । आलोचना कसरी भने संघीयता नआउँदै र बुटवल प्रदेशको अस्थायी राजधानी नवन्दै किन यसका लागि वजेट विनियोजन गरेको ? वरु यो वजेट मुलुकको समानुपातिक विकासका लागि कर्णालीतिर पठाएको भए हुन्थ्यो । ब्यर्थमा वजेट दुरुपयोग गरे पौडेलले । यसो भनेको भए कम्तिमा पाण्डेलाई समानुपातिक विकासका पक्षपाती (?) भन्न सकिन्थ्यो ।
निश्चयनै बुटवल मण्डपमा स्थायी प्रकृतिको प्रदर्शनी केन्द्र वनाउने कुरा ब्यवसायीले उठाउँदै आएका थिए । तर, अहिले जुन प्रकारको अत्याधुनिक वन्दैछ त्यो विष्णु पौडेलकै अवधारणा अनुरुप वन्दैछ भन्ने कुरामा स्वयं पाण्डेको आत्माले पनि स्वीकारेको छ । उनी शक्तिमा पुगेपछिनै हो रुपन्देहीमा ठूला परियोजना वन्न थालेको । त्यसमा पनि अर्थमन्त्री भएपछि यो जिल्लाको मुहारमा आमूल परिवर्तन हुन थालेको छ । कम्तिमा यति भन्न र देख्नका लागि कम्युनिष्ट आँखा हुनु पर्दैन । चुनावमा आ–आफ्नो आस्था अनुसार भोट हाल्ने हो । तर्क र तथ्यमा टेकेर प्रचारवाजी गर्ने काम स्वभाविक हुन्छ । तर अहिले चुनाव आएको छैन । यस्तो वेलामा प्रतिशोध साँध्नु वेतुकको कुरा हो । विष्णु पौडेल त्यस्ता ब्यक्ति हुन् जसले एक पटक हैन पटक पटक आफू एउटा पार्टीवाट निर्वाचित भएपनि सवैको साझा प्रतिनिधि हूँ र विना भेदभाव काम गर्नेछु भनेर प्रतिवद्वता ब्यक्त गरिरहन्छन् ।
विष्णु पौडेलले गर्ने यो क्षेत्रको विकासवाट यस क्षेत्रका सवैले लाभ प्राप्त गर्ने हुन् । अमूक पार्टीको भनेर लाभवाट कोही वञ्चित हुँदैन । कुरा यति हो कि उनले जीवनपर्यन्त आफूले गरेका कामको वजारीकरण गरिरहलान् । पार्टीले पनि त्यसै गर्ला । तर, यसकै आधारमा आत्तिइ हाल्नु पर्दैन । अन्तिम न्यायाधीस जनता हुन् । जनताले यथोचित् निर्णय गर्छन् ।
दलीय विरोध केवल आत्मरतिका लागि मात्र हुनुहुन्न । कहिलेकाँही यसले दीर्घकालिन असर पार्न सक्छ । एसियाली विकास बैंकको सहयोगमा मैनावगरको मुलुककै नमुना अटो भिलेज तुहाउने काम अरु कसैले हैन बुटवलवासीलेनै गरेका छन् ।
बुटवलको सुख्खानगर क्षेत्रमा एडिविको सहयोगमा वन्न थालेको डिप वोरिङ् खानेपानी आयोजना यसरीनै तुहाउने काम गरियो । फोहर प्रशोधन केन्द्र पनि राजनीतिक प्रतिशोधका कारण असफल भएको छ । जिल्लाभरीमा तथ्यांक संकलन गर्ने हो भने यस्तो सूचि धेरै लामो हुन सक्छ । विकासे आयोजनामा यस प्रकारका अवरोध यस अँघि पनि हुने गरेका थिए । शंकरगनरमा मेडिकल कलेज आयोजनाको कार्यालय उद्घाटन र बुटवल नारायणगढ सडक विस्तारको शिलान्यास कार्यक्रमलाई विथोल्नका लागि वन्दको घोषणा गरियो । आवरणमा वन्द जसले गरेपनि त्यसलाई सहयोग समर्थन गरेर आत्मतुष्ठि लिने काम प्रतिपक्ष मात्र हैन सत्तापक्षले पनि गरेका हुन सक्छन् । जितगढीमा अंग्रेजलाई परास्त गर्ने कर्णेल उजिर सिंहको शालिक अनावरण र झण्डोत्तलन गर्दा कालोझण्डा देखाएर असन्तुष्ठि प्रदर्शन गर्न लगाइयो । त्याँहा पक्राउ परेका युवालाई छुटाउन पाण्डेलेनै अगुवाई गरे भन्ने समाचार आयो । त्यसले के प्रश्न उठायो भने के नेपाली कांग्रेसले सारा विकासका काममा अवरोध मात्र सृजना गर्छ ? अर्थात् सिंगो कांग्रेस विकासविरोधी हुन थालेको हो ? मलाई लाग्छ यो पटक्कै हैन । एउटा परिपक्क पार्टीले त्यस्तो गर्नै सक्दैन ।
पर्चा काण्ड पछि मैले एकजना कांग्रेसप्रति समर्पित पेशाकर्मीसंग जिज्ञासा राखें– आखिर पाण्डेले किन यसो गरे ? उनको जवाफ थियो–नगरप्रमुखमा चुनाव हारेपछि विष्णु पौडेलकै कारणले हारें भन्ने परेको छ उनलाई । निश्चयनै यसमा सत्यता छ । यसको अर्थ उनले पौडेलको सहयोगमा चुनाव जित्न खोजेका हुन् ? राजनीतिमा के यस्तो सम्भावना हुन्छ ? हुँदैन । त्यसैले यो सव प्राकृतिक कुरा हो भनेर चित्त वुझाउनुभन्दा अरु विकल्प छैन पाण्डेसंग । यद्यपि चुनावको कुण्ठा पालेर असन्तुलित मनस्थिति वनेको हुन सक्छ उनको । यदि यसो हो भने यो मनोविज्ञानवाट टाढै रहनु उचित हुन्छ । विगतमा पाण्डेले सरल र सस्कारयुक्त पहिचान् वनाएका हुन् । उनको अटल निष्ठालाई सम्मान गर्नैपर्छ । उनले प्राप्त गरेको मतलाई पनि सम्मान गर्नैपर्छ । पराजित भएपनि उपमेयरको तुलनामा थोरै मतले पराजित भएकाले उनी लोकप्रिय थिए भन्ने संकेत पनि गर्छ । त्यसैले त्यो पहिचानलाई जोगाउने चुनौति छ उनीमाथि । यस्तै अराजनीतिक चरित्र प्रदर्शन गर्ने हो भने पहिचान गुम्न वेर लाग्दैन । एकजना मित्रको हैसियतले मेरो सुझाव यही हो । आगे जो इच्छा । भनिन्छ नि भिरवाट पल्टने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन ।
प्राप्त प्रतिकृयाहरू