काठमाडौँ,जेष्ठ २०
लगानी बोर्डले सातै प्रदेशमा सौर्य ऊर्जा परियोजनाको सम्भाव्यता अध्ययन गर्न फिलिपिन्सको ग्रिनइनर्जी सोलुसन इन्कर्पोरेसनलाई अनुमति दिएको छ ।
सातै प्रदेशमा करिब ५ सय ५० मेगावाटको सौर्य ऊर्जा परियोजना सम्बन्धी अध्ययनका लागि अनुमति पत्र दिने निर्णय भएको बोर्ड कार्यालयले जनाएको छ । बोर्डको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यो परियोजनाको कुल लागत ४८ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको छ ।
सरकारले बजेटमार्फत हरेक प्रदेशमा सौर्य र जलविद्युत् गरी दुई ठूला आयोजना निर्माण गर्ने घोषणा गरेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले १० वर्षमा १५ हजार मेगावाट ऊर्जा उत्पादनको लक्ष्य लिएको छ ।
बोर्डको बैठकले वीरगन्ज र भैरहवामा बन्दरगाह निर्माण परियोजनाको सम्भाव्यता अध्ययन गर्न पनि अनुमति प्रदान गरेको बोर्ड कार्यालयले जनाएको छ । करिब ६ अर्ब ५१ करोड रुपैयाँ लागत भएको यो संरचनाको सम्भाव्यता अध्ययनका लागि फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीलाई दिइएको बोर्ड कार्यालयले जनाएको छ ।
ऊर्जा परियोजना र बन्दरगाह परियोजना सम्भाव्यता अध्ययनका लागि सरकारलाई कुनै आर्थिक भार नपर्ने सर्तमा अनुमतिपत्र दिइएको बोर्ड कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनीमा बौद्ध धर्मसम्बन्धी प्रदर्शनी पार्क निर्माणको लागि पनि अध्ययन अनुमति दिने निर्णय गरेको छ । अध्ययनका लागि प्रस्तावक कम्पनी सिल्क रोड इन्टरनेसनल होल्डिङलाई दिइएको हो ।
बैठकले सार्वजनिक निजी साझेदारी तथा लगानी विनयमावलीको मस्यौदालाई स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको बोर्ड कार्यालयले जनाएको छ ।
सार्वजनिक–निजी साझेदारीमा परियोजना अघि बढाउन र विदेशी लगानी प्रवर्द्धनको उद्देश्यसहित भर्खरै मात्र संसद्ले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन पारित गरेको छ ।
प्राप्त प्रतिकृयाहरू