काठमाडौँ– २३ वर्षपछि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका छन्।
शनिबार नेपाल आएका उनले आफ्नो सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा होटेल सोल्टी क्राउन प्लाजामा आयोजित रात्रीभोजमा सम्बोधन गर्दै यस्ताे बताएका हुन्।
यसका साथै राष्ट्रपति सीले नेपाल र चीनकाे सम्बन्धमा कुनै समस्या नभएकाे बताए। उनले भने, ‘नेपाल–चीन सम्बन्धमा कुनै समस्या छैन, हामीबीच मित्रताको सम्बन्ध गहिरो छ।’
उनले नेपाल र चीनको राजनीतिक सम्बन्ध थप बलियो बन्नेमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘जलवायुबारे चीनले नेपालकाे चासोको समर्थन गर्छ र हिमालय क्षेत्रको रक्षामा समेत सहयोग गर्ने तत्परता देखाउँछ।’
यसअघि राष्ट्रपति भवन शीतल निवासमा भएकाे भेटवार्तामा नेपाल–चीन सम्बन्धका विषयमा छलफल भएको थियाे। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी थिइन्।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुई दिने राजकीय भ्रमणमा भारतकाे चेन्नइबाट सिधै काठमाडौँ आएका हुन्।
प्राप्त प्रतिकृयाहरू