कात्तिक २५
नेपाल-भारतबीच कालापानी सीमा विवादबारे दुई देशका अधिकारीबीच कूटनीतिक पहल सुरू भएको छ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय नेतृत्वसँग भारतले आफ्नो नक्सामा राखेको नेपाली भूमिबारे छलफल थालेको छ।
दूतावासका अनुसार गएको शुक्रबार राजदुत निलाम्बर आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे कुरा गरेका छन्।
‘राजदूत आचार्य र विदेश सचिव गोख्लेबीच गोख्लेकै कार्यकक्षमा शुक्रबार भेटवार्ता भयो। वार्ताका क्रममा सीमा विवादलगायत दुई पक्षीय सम्बन्धबारे छलफल भयो,’ दूतावासले सोमबार ट्विट गर्दै भनेको छ।
दूतावास स्रोतका अनुसार उक्त भेटमा राजदूत आचार्यले कालापानी क्षेत्र नेपालको भएको अडान दोहोर्याउँदै सीमामा देखिएको समस्या वार्ताबाट तुरून्त हल गर्नु पर्ने धारणा राखेका थिए। अहिले नै जारी पक्रिया वा आवश्यक परे नयाँ पक्रियाबाट भए पनि विवाद चाँडै समाधान गर्नु पर्नेमा आचार्यले जोड दिएका थिए।
जम्मु कस्मिरलाई दुई केन्द्रशासित क्षेत्र बनाउन भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समेटेपछि नेपालमा चर्को विरोध भइरहेको छ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा सबै राजनीतिक दलले कालापानी क्षेत्र नेपाली भूमि भएको उल्लेख गर्दै फिर्ता गर्न भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताएका थिए।
सर्वदलीय बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले भारतसँग विभिन्न चरणमा कूटनीतिक पहल गर्ने बताएका छन्।
प्राप्त प्रतिकृयाहरू