शक्तिशाली पश्चिमी वायु नेपाल प्रवेश,भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

समाज मंसिर २६ २०७६ ekhabarnepal
Nepal 32 843841760

काठमाडौं, मंसिर २६
नेपालमा शक्तिशाली पश्चिमी वायु प्रवेश गरेको छ। यसले कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरेको हो।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ।

बिहीबार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको महाशाखाले गरेको विशेष बुलेटिनमा उल्लेख छ।

उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिएको महाशाखाको मौसमविद्को अनुमान छ।

साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविद्को भनाइ छ।

महाशाखाले बुधबार साँझ जारी गरेको विशेष बुलेटिनमा भनिएको छ : उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।

यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने मौसमविद्को अनुमान छ।

प्राप्त प्रतिकृयाहरू

To Top