काठमाडौं असार २४– दोस्रो चरणको स्थानीय तह निर्वाचनको अब ४ तहको मात्रै नतिजा बाँकी रहेको छ ।
मोरङको विराटनगर महानगरपालिका, झापाको अर्जुनधारा नगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र कञ्चनपुरको पुनर्बास नगरपालिकाको नतिजा आउन बाँकी रहेको हो । जसमा विराटनगरमा कांग्रेस लगभग जित नजिक देखिएको छ भने बाँकी तीन तहमा एमालेको अग्रता रहेको छ ।
पछिल्लो मतपरिणामअनुसार विराटनगर महानगरको मेयरमा कांग्रेसका भीम पराजुलीको १९१५१ मत रहेको छ भने एमालेका मेयर उम्मेदवार विनोद ढकालको १३५३८ मत रहेको छ । यस्तै उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीको १६६७० मत रहेको छ भने माओवादी केन्द्रकी नमिता न्यौपानेको १००३३ मत रहेको छ ।
यता झापाको अर्जुनधारा नगरपालिकामा एमालेका हरिकुरमार रानाले मेयरमा ८८१३ मतका साथ अग्रता लिइरहेका छन् भने कांग्रेसका हेमराज खरेलले ५६७० मतका साथ पछ्याइरहेका छन् । उपमेयरमा पनि एमालेकै कमला खतिवडा ८१६१ मतका साग अग्रस्थानमा रहेकी छन् ।
कञ्चनपुरको पुर्नबासमा एमालेका मेयर उम्मेदवार जीवनराम थापा ४०७४ मतका अग्रस्थानमा रहँदा माओवादी केन्द्रका वीरबहादुर थापा ४३११ मतका साथ पछिपछि छन् । उपमेयरमा एमालेकै शारदा विष्ट ४३३६ मतका साथ अग्रस्थानमा छिन् । यस्तै ३५३९ मतका साथ माओवादी केन्द्रकी सीता बिक पछिपछि छिन् ।
धरान उपमहानगरपालिकामा एमालेकै तारा सुब्बा ७३६६ मतका साथ अग्रस्थानमा रहँदा कांग्रेसका तिलक राई ६१४२ मतका साथ दोस्रो स्थानमा रहेका छन् । उपमेयरमा पनि एमालेकै मञ्जु भण्डारी फराकिलो मतान्तरमा अग्रस्थानमा छिन् ।
प्राप्त प्रतिकृयाहरू