–छ महिनामा प्रक्रिया सक्ने
–सुरु भएको २७ महिनामा निर्माण पूरा हुने लक्ष्य
–डेढ अर्बको लागत अनुमान
–३५० देखि ४०० स्टल राख्न मिल्ने
अमृत गिरी
बुटवल, असार १४ । पाँच नम्बर प्रदेशको राजधानी बुटवलको मुहार फेरिने गरी अर्को नयाँ कामको सुरुआत भएको छ । भौतिक पूर्वाधार विकासमा तीव्र फड्को मार्दै आएको बुटवलमा अत्याधुनिक सभाहल तथा प्रदर्शनी केन्द्र बन्ने प्रक्रियाको औपचारिक थालनी भएको छ ।
बुटवल उप–महानगरपालिका– १०, रामनगर स्थित बुटवल मण्डपमा प्रस्तावित अन्तर्राष्ट्रीय स्तरको उच्च प्रबिधियुक्त ‘बुटवल प्रदर्शनी केन्द्र’ निर्माणका लागि मंगलबार ग्लोबल टेण्डर आब्हान भएको छ ।
नेपाल सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास र भवन निर्माण विभाग अन्तर्गतको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले बोलपत्र आह्वान गरेको हो । छ महिना भित्रमा बोलपत्रको प्रक्रिया सक्ने गरी काम सुरु गरिएको परियोजना प्रमुख शिखर लामाले जानकारी दिनुभयो । सुरु भएको २७ महिनामै यस्को निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको प्रमुख लामाले जानकारी दिनुभयो ।
यस्तो डिजाइन भएको छ प्रदर्शनी केन्द्रको
बुटवलको राजमार्ग चौराहबाट पूर्वपट्टि रहेको बुटवल मण्डपको कुल जग्गा साढे १६ बिघा रहेको छ । यहीँ जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल बन्न लागेको हो । साढे १० बिघा क्षेत्रफलमा अहिले अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (सभाहल) निर्माणको काम चलिरहेको छ । आकासबाट हेर्दा नेपाली राष्ट्रिय झण्डा आकारमा यो प्रदर्शनी स्थलको निर्माण हुने छ । मण्डपमै रहेको बाँकी ६ बिघा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाइने छ ।
एक अर्ब ५० करोड भन्दा बढी लागत अनुमान गरिएको यो प्रदर्शनी स्थल मुलुककै नमुना हुने छ । बुटवल मण्डपमा बन्ने यो सभाहल तथा प्रदर्शनी केन्द्र मुलुककै ठूलो र आकर्षक हुने दाबी गरिएको छ । यस्को प्रदर्शनी केन्द्रमै हरियालीसहितका चिल्डेन पार्क, आधुनिक मिटिङ हल, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका पेवेलियनहरु तयार पारिनेछन् ।
प्रदर्शनीका लागि ट्रस्ट सिस्टमको ठूलो हलमा १२ हजार स्क्वायर मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूल स्थलको डिजाइन गरिएको छ । यहाँ तीन सय ५० देखि चार सय वटा सम्म स्टलहरु राख्न मिल्ने छ । स्टाण्डर्ड खालका स्टलहरुलाई आवश्यक परेका बखतमा घटाउन÷बढाउन मिल्नेगरी डिजाइन गरिएको छ ।

खुला स्थानमा ठूला–ठूला उपकरणहरुको छुट्टै प्रदर्शनी गराइने छ । त्यहाँ डोजर, लोडर, गाडीलगायतका साधनहरुको प्रदर्शनी हुने छ । यस्तै तीन सय ५० र दुई सय ५० स्क्वायर मिटरका दुई वटा ठूला मिटिङ हल पनि बन्ने छन् । तीन सय ५० स्क्वायर मिटरमै व्यवस्थित भोजनालय बन्ने छ ।
प्रदर्शनी स्थलमा पाँच सय स्क्वायर मिटरमा आकर्षक हरियालीसहितको बाल उधान बन्ने छ । मण्डप परिसरमा रहेको गणतन्त्र स्मारकलाई स्थानन्तरण गरेर थप आकर्षक क्षेत्रमा सार्ने गरी डिजाइन गरिएका आयोजना प्रमुख लामाको भनाइ छ । स्तम्भका लागि छुट्टै पोखरी निर्माण गरेर दीपसहितको स्थानमा सारिने छ ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको अर्को ड्रिम प्रोजेक्ट हो यो । पौडेल अर्थमन्त्री बनेका बेलामा यस्तै ड्रिम प्रोजेक्टका लागि सबैभन्दा धेरै बजेट रुपन्देहीकै लागि विनियोजन गर्नुभएको थियो । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रलगायतको निर्माणको संकल्प उतिबेलै गुर्नभएको थियो । लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रलाई विकासको रोलमोडल बनाउने उहाँको संकल्प हो ।
बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीले प्रदर्शनी केन्द्र निर्माणको बोलपत्र आह्वानको औपचारिक प्रक्रियाले आफुहरु खुशी भएको बताउनुभयो । बुटवलका लागि अर्को गौरवको विषय थपिएको उल्लेख गर्दै प्रमुख सुवेदीले तोकिएको समयमै निर्माण कार्य सम्पन्न होस् भन्ने आम बुटवलबासीको चाहना रहेको बताउनुभयो । ‘बुटवल अर्थात् बुद्धबल्लीलाई मुलुककै प्रमुख केन्द्रका रुपमा विकास गर्ने अभियान स्वरुप अर्को नयाँ कामको थालनीले बुटवलबासी सबैलाई खुशी बनाएको छ यो तोकेको समयमै पूरा होस्’ प्रमुख सुवेदीको भनाइ छ ।
सहकार्य गर्छौं तोकेको समयमै काम पूरा होस् ः निजी क्षेत्र
यहाँका निजी क्षेत्रका अगुवाहरुले सहकार्य गर्न तयार रहेको भन्दै तोकिएको समयमै निर्माण कार्य सम्पन्न होस् भन्ने चाहना राखेका छन् । बुटवल मण्डपमा अस्थायी संरचना बनाएर प्रदर्शनी तथा मेला महोत्सव सञ्चालन हुँदा लाखौं रकम खेर गइरहेको भन्दै उनीहरुले अब व्यवस्थित प्रदर्शनी केन्द्र बन्ने भएपछि खुशी लागेको प्रतिक्रिया दिएका छन् । उद्योग बाणिज्य संघ बुटवल, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ तथा उद्योग व्यापार संगठनलगायतका संस्थाहरुले यहाँ अस्थायी संरचना निर्माण गर्दै वर्षेनी मेला महोत्सव गर्दै आएका थिए ।
उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलले आर्थिक सबलीकरणमासमेत मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले समयमै काम सम्पन्न गर्ने र गराउनेतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
अब व्यवस्थित प्रदर्शनी केन्द्र बन्ने भएपछि यीनै संस्थाहरु अहिले खुशी बनेका छन् । उद्योग संघका अध्यक्ष गणेश अधिकारीले प्रक्रिया सुरु हुनु खुशीको कुरा रहेको भन्दै ग्लोबल टेण्डरमा सामेल हुने कम्पनीलाई अग्रीम शुभकामना दिए ।
यस्तै रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले बुटवलम व्यवस्थित प्रदर्शनी केन्द्रको खाँचो रहेका बेलामा सुरु भएको प्रक्रियाले उत्साह जागेको बताए । उनले समयमै काम सम्पन्न नहुने रोगको भने अन्त्य हुन जरुरी रहेको बताए ।
प्राप्त प्रतिकृयाहरू