कार्तिक २३
शरीर जोडिएका १५ महिने भुटानी जुम्ल्याहा दिदीबहिनी निमा र दावालाई अस्ट्रेलियाको मेलबर्नस्थित रोयल चिल्ड्रेन हस्पिटलमा करिब ६ घण्टाको शल्यक्रियापछि सफलतापूर्वक छुट्याइएको छ।
अस्ट्रेलियाको मेलबर्नस्थित रोयल चिल्ड्रेन हस्पिटलका पेडियाट्रिक चिकित्साका प्रमुख डा. जो क्रामेरीको नेतृत्वमा रहेको डाक्टर, नर्स तथा एनेस्थेसिष्ट गरी जम्मा २५ जनाको टोलीले ९ नोभेम्बर शुक्रबारका दिन उक्त शल्यक्रिया गरेको हाे। सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेपछि पत्रकारहरूसँग कुरा गर्दै डा. क्रामेरीले शल्यक्रियाका क्रममा कुनै पनि उतारचढाव नआएको र सबै कुरा सामान्य तथा स्थिर रूपमा सम्पन्न भएको बताए। उनले भने– ‘अहिले दुवै दिदीबहिनीको स्वासप्रस्वासका लागि राखिएको ट्युब पनि हटाइएको छ र उनीहरूलाई आइसियुमा पनि राखिएको छैन। यो एकदमै राम्रो संकेत हो। आगामी ४८ घण्टाको समय उनीहरूको लागि निकै महत्वपूर्ण हुन्छ त्यसका लागि हामी तयार छौँ र निरन्तर अनुगमन गरिराख्नेछौँ।’
निमा र दावा दिदीबहिनीको शल्यक्रिया अक्टोबरमा गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा उनीहरूको शरीर कमजोर देखिएकाले केही पर सारिएको थियो। उनीहरू आफ्नी आमा भुमचु ज्याङ्मो र भुटानी चिकित्सकका साथ गत अक्टोबर महिनामा अस्ट्रेलियाको मेलबर्न आएका थिए। उनीहरूको शरीरको तल्लो भाग तथा कलेजो जोडिएको थियो।
अस्ट्रेलियाको भिक्टोरिया राज्यले यस शल्यक्रियाको क्रममा लाग्ने कमसेकम ३ लाख ५० हजार अस्ट्रेलियन डलर आफैँले व्यहोर्ने बताइसकेको छ भने उनीहरूको आउने जाने तथा बस्ने खर्च ‘चिल्ड्रेन फर्स्ट फाउण्डेसन’ नामक अस्ट्रेलियन च्यारिटी संस्थाले व्यहोरेको छ जस्ले विकासोन्मुख राष्ट्रका बालबालिकाहरूलाई विशेषज्ञ शल्यक्रिया तथा चिकित्सा सेवा प्रदान गर्ने गर्दछ। यसबाहेक संकलन गरिएको रकम उनीहरूको पुनर्स्थापनाका लागि प्रयोग गरिने जनाइएको छ। सो संस्थाले सन् २००९ मा रोयल चिल्ड्रेन हस्पिटलसँग सहकार्य गरेर टाउको जोडिएका बंगलादेशी जुम्ल्याहा तृष्णा र कृष्णालाई सफलतापूर्वक छुट्याउनका लागि पनि महत्वपूर्ण भूमिका खेलेको थियो।
प्राप्त प्रतिकृयाहरू