अमेरिकी संसदको तल्लो सदन द हाउस अफ रिप्रिजेन्टेटिभले चार महिला सांसदलाई लक्षित गरी शृङ्खलाबद्ध रुपमा गरेको रंगभेदी ट्वीटको निन्दा गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याटिन तथा अफ्रिकन मुलका महिला नेतृलाई लक्षित गरेर आइतबार रंगभेदी ट्वीट गरेका थिए । उनले ट्वीटमा लेखेका थिए, ‘मुल रुपमा राज्यसत्ता पूर्ण रुपमा खराब रहेको देशबाट आएकाहरुले सुझाव दिनु पूर्व आफ्नो मुल देश फर्किए हुन्छ ।’ त्यसपछि राष्ट्रपति ट्रम्पले कंग्रेसकी सभामुख न्यान्सी पेलोसीलाई लक्षित गरेर ट्वीट गरेका थिए ।
डेमोक्र्याटिक पार्टीका लेफ्ट–विङ्गमा रहेका चार महिला नेतृको समूह ‘द स्क्वाड’ सँग सभामुख पेलोसीको गएको हप्ता विवाद भएको थियो । त्यसको हप्ता दिनपछि ट्रम्पले उनीहरु विरुद्ध रंगभेदी ट्वीट गरेका हुन् । ट्रम्पले ती नेतृहरु आफ्नो ‘मुल’ देश फर्किने भए यात्राको निशुल्क व्यवस्थापनका लागि सभामुख पेलोसी खुशी हुने ट्वीटमा उल्लेख गरेका थिए ।
अमेरिकामै जन्मी हुर्केका एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब र एयाना प्रेसली तथा बाल्यकालमा अमेरिका आएकी इहान ओमारले कंग्रेसमा ‘द स्क्वाड’ समूह बनाएका छन् ।
महिला सांसदलाई लक्षित गरी आएको ट्रम्पको ट्वीटको सर्वत्र आलोचना भइरहेको छ । ट्रम्पले लक्षित गरेका महिला नेतृहरुले अमेरिकी समय अनुसार सोमबार बेलुका पत्रकार सम्मेलन गरी उनको ट्वीट ध्यान दिनु पर्ने विषयबाट भड्काउनका लागि आएको भन्दै बेवास्ता गर्ने र त्यस्तै गर्न अमेरिकी नागरिकसँग आग्रह गरेका थिए । उनीहरुले ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने पनि माग गरेका थिए ।
अमेरिकी तल्लो सदनले राष्ट्रपति ट्रम्पको ट्वीटको निन्दा गर्दै उनको रंगभेदी टिप्पणीले नयाँ अमेरिकी र रंगसहितका व्यक्तिमा डर र घृणालाई वैधता प्रदान गर्ने उल्लेख गरिएको छ ।
डेमोक्र्याटिक पार्टीको नियन्त्रण रहेको तल्लो सदनमा ट्रम्पको टिप्पणीलाई निन्दा गर्ने सम्बन्धी प्रस्ताव २४० मतले पारित भएको हो । प्रस्तावको विपक्षमा १८७ मत परेको जनाइएको छ ।
ट्रम्पको रंगभेदी ट्वीटको सर्वत्र आलोचना भइरहे पनि ट्रम्पले भने आफ्नो ट्वीटको बचाउ गर्दै आएका छन् र त्यो रंगभेदी नरहेको दाबी गरिरहेका छन् ।
ट्रम्पको ट्वीट रंगभेदी (रेसिस्ट) र जेनोफोविक (भिन्न देश वा भिन्न देशको इतिहास बाकेकाहरुप्रति अपमानजनक र फरक व्यवहार गर्ने प्रवृत्ति) रहेको भन्दै आलोचना भइरहेको हो ।
प्राप्त प्रतिकृयाहरू