काठमाडौं, पुस २६
आज (शनिबार)देखि पर्सि (सोमबार)सम्म देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
केही दिन पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव रहेको नेपालमा शुक्रबारदेखि यो प्रणाली हटेकाले आगामी तीन दिन मौसम सामान्यतया सफा रहने देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।
‘आगामी तीन दिन अर्थात् सोमबारसम्म कतै वर्षा वा हिमपात हुने सम्भावना छैन,’ उनले भनिन्, ‘तराई क्षेत्रमा भने हुस्सु/कुहिरो लाग्न सक्छ।’
पश्चिमी वायुको प्रभाव हटेपछि अर्थात् मौसम बदली हुन छाडेपछि तराईमा हुस्सु/कुहिरो लाग्ने मौसमविद् बताउँछन्। पश्चिमी वायुको प्रभाव रहेका बेला तराईमा केही दिन हुस्सु/कुहिरो हटेको थियो।
अहिले बिहान पनि तराई क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ। तर त्यो दिउँसोतिर हट्ने सम्भावना रहेकाे माैसमविद् शाक्यकाे अनुमान छ।
उनका अनुसार आज काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ।
शनिबार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको उनले जानकारी दिइन्। पुनः अहिले पौने ९ बजे मापन गरिने पनि उनले बताइन्।
महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन। यतिबेला तराई भूभागमा कुहिरो/हुस्सु लागेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ।
यस्तो छ आगामी ३ दिनको मौसम अनुमान :
पुस २६ गते शनिबार दिउँसो मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशका पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार र सोमबार देशभर मौसम सामान्यतया सफा रहनेछ।
सोमबार राति देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
प्राप्त प्रतिकृयाहरू